काठमाडौँ, बुधबार, २५ असार २०८२ । नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले राष्ट्रभाव झल्काउने सातै प्रदेशका उत्कृष्ट गीतहरू सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत प्रतिष्ठानले दुईवटा म्युजिक भिडियोसहित सातवटा अडियो गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतका भिडियोमध्ये पहिलो ‘तीते तीते’ गीत शिक्षाको पहुँच नपाएर विदेशिनुपरेको नेपालीको यथार्थ कथामा आधारित छ । गीतमा महेश खड्काको संगीत, प्रकाश सापकोटाको शब्द र शान्तिश्री परियारको स्वर छ भने भिडियोको निर्देशन अभि लामाले गर्नुभएको हो । भिडियोमा बिना रावत र अलि तामाङले अभिनय गर्नुभएको छ ।
दोस्रो भिडियो ‘लहबीरे’ पूर्वी पहाड ओखलढुंगाका बायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख भाकामा आधारित छ । लाहाङ सुब्बाको संगीत संयोजनमा तयार भएको गीतमा कुमार प्रयास, परेश राई, तेजकुमार राई, इन्द्रकला राई, मनमावी राई र रश्मी राईले स्वर दिनुभएको छ । यो भिडियोको निर्देशन पनि अभि लामाकै छ ।
कार्यक्रममा सातै प्रदेशबाट छनोट भएका राष्ट्रभाव झल्काउने अडियो गीतहरू पनि सार्वजनिक गरिएको थिया । सुदूरपश्चिम प्रदेशबाट धीरन नाथको शब्द, शान्तिराम राईको संगीत र रोशन राईको स्वर रहेको गीत प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशबाट क्षितिज समर्पणको शब्द, महेश खड्काको संगीत र मिलन खपांगी तथा मीना चौधरीको स्वर रहेको गीत सार्वजनिक भयो । मधेस प्रदेशबाट लीलाराज दाहालको शब्द, वसन्त सापकोटाको संगीत र प्रल्हाद तिमल्सिना तथा मनीषा सुनारको स्वर रहेको गीत छ ।
यस्तै, लुम्बिनी प्रदेशबाट वसन्तकुमार आचार्यको शब्द, आशीष अविरलको संगीत र स्वर रहेको गीत समावेश छ । गण्डकी प्रदेशबाट बाबुराम श्रेष्ठको शब्द, श्रीकृष्ण बम मल्लको संगीत र लक्ष्मी मल्ल, सारिका घिमिरे, उषा गजुरेल तथा योगेश काजी शाहको स्वर रहेको गीत प्रस्तुत गरिएको छ ।
बागमती प्रदेशबाट सिर्जना अर्यालको शब्द, शान्तिराम राईको संगीत र रोशन राईको स्वर रहेको गीत सार्वजनिक गरिएको हो भने कोशी प्रदेशबाट तेजकुमार राईको शब्द, महेश खड्काको संगीत तथा सन्दीप पनेरू र प्रिया पोखरेल पनेरुको स्वर रहेको गीत सार्वजनिक गरिएको छ । यी सबै गीत प्रज्ञा-प्रतिष्ठानको आधिकारिक युट्युब च्यानलमार्फत उपलब्ध छन् । कार्यक्रममा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेल र उपकुलपति तथा कार्यक्रम संयोजक शम्भु राईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कुलपति पोखरेलले राष्ट्रभाव, जनचेतना, मौलिकतासहितका गीतसंगीतको संरक्षण र प्रवद्र्धनमा प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभयो । ‘विदेशी संस्कृतिको प्रभाव बढ्दै गएका बेला मौलिक नेपाली संस्कृति जोगाउन सबैको सहभागिता आवश्यक छ । प्रतिष्ठान सबैको साझा सम्पत्ति हो, त्यसैले सुझाव र सल्लाहको अपेक्षा गरेका छौं’, उपकुलपति राईले भन्नुभयो । कार्यक्रममा सहभागी गीतकार, संगीतकार, गायक–गायिका र कलाकारलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।








