काठमाडौँ, बिहीबार, २६ असार २०८२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा डा. दीपक अर्याल नियुक्त हुनुभएको छ । त्रिविका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त उपकुलपति अर्यालले बुधबार नै पद तथा गोपनीयताको शपथग्रहण पनि गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा बुधबार कुलपति ओलीसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी हुनुुहुुन्थ्यो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिश समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिश गरेको थियो । जसमा अर्यालसहित निमित्त उपकुलपति प्राडा. खड्ग केसी र विज्ञान संकायका पूर्वडिन प्राडा. विनिल अर्याल हुनुहुन्थ्यो । तीनमध्येबाट ओलीले प्राडा. अर्याललाई नियुक्त गर्नुभएको हो ।
त्रिवि ऐनअनुसार शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्य छनोट समिति गठन गरी उपकुलपति खोज्ने काम गरिएको थियो । निवर्तमान उपकुलपति केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हालसम्म त्रिविका शिक्षाध्यक्ष प्राडा. खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । चार वर्षको कार्यकालका लागि नियुक्त हुनुभएका बरालले १३ महिनामै राजीनामा दिनुभएको थियो । कुलपति ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गर्नुभएको थियो । त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो । प्रधानमन्त्री ओलीले केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।
निवर्तमान उपकुलपति बरालको पालामा अधिकांश समय त्रिविमा तालाबन्दीमै बितेको थियो । आंशिक र करारका शिक्षकले विभिन्न माग राखेर तालाबन्दी र कार्यालय घेराउ गरेपछि बराललाई विश्वविद्यालयमा आफ्नो कार्यकक्षमा बसेर काम गर्न सास्ती खेप्नुपरेको थियो ।
अर्यालले त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागीय प्रमुख भएर काम गरिसक्नुभएको छ । उहाँ मौसमविद् र नास्टका प्राज्ञ पनि हुनुहुन्छ ।









