गोरखा, शनिबार, २८ असार २०८२ । गोरखाको धार्चे गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु हुने भएको छ ।
गोरखाको ग्रामिण तथा दुर्गम क्षेत्र विशेषतः गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई लक्षित गरी विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले टेलीमेडिसिन सेवा सुरु हुने भएको हो ।
WARM NEST FOUNDATION, Renewable World र गोरेटो गोरखाको सहकार्यमा सञ्चालित “स्वास्थ्यका लागि ऊर्जा स्केल अप परियोजना” अन्तर्गत धार्चे गाउँपालिका र प्रदेश अस्पताल गोरखाबीच टेलीमेडिसिन सेवा पाइलट गर्न शुक्रबार एक औपचारिक कार्यक्रमका बिच सम्झौता सम्पन्न भएको हो ।
यस सेवा मार्फत अब धार्चेजस्तो दुर्गम ठाउँमा पनि प्रदेश अस्पतालका विशेषज्ञहरूसँग सिधा परामर्श लिन सकिनेछ। यो एक नवीन प्रयास हो, जसले स्वास्थ्य सेवामा पहुँचलाई अझ सुलभ र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
टेलीमेडिसिन ग्रीक शब्द ‘टेली’ र ल्याटिन शब्द ‘मेडेरी’ बाट बनेको हो । टेलीको अर्थ ‘दूरी’ र ‘मेडेरी’को अर्थ हो, उपचार । अर्थात्, टाढा रहेका बिरामीहरू र चिकित्सकहरूबीचको दूरीलाई हटाएर स्वास्थ्य सुविधाहरूलाई भर्चुअली उपलब्ध गराउनु हो ।
यस व्यवस्थामा स्वास्थ्य सम्बन्धी समस्याहरू हुँदा बिरामीले चिकित्सकको अगाडि भौतिक रूपमा उपस्थित हुनुको सट्टा भिडियो कल, फोन कल, च्याटिंग र इमेलको माध्यमबाट सल्लाह लिन्छन् । टाइम म्यागजिनले यसलाई ‘हिलिङ बाई वायर’ नाम समेत दिएको छ । त्यसैले आधी कुरा त यही कुराबाट नै बुझ्नुभयो होला ।
अब यसको इतिहास थोरै जानौं । यद्यपि टेलीमेडिसिनको उदय इन्टरनेटको युगभन्दा पहिले भएको थियो । तर इन्टरनेको विस्तार भएसँगै यो बढी लोकप्रिय हुन थालेको हो । टेलिमेडिसिनले बिरामीहरूलाई घरमै स्वास्थ्य सेवा लिन सम्भव बनाएको छ ।
टेलीमेडिसिनको इतिहास
टेलीमेडिसिनको आश्चर्यजनक रूपमा लामो इतिहास छ, जुन टेलिफोनको आगमनसँगै सुरू भएको थियो । सन् १९०६ मा, वैज्ञानिक एंथोवेनले पहिलो पटक टेलिफोन लाइनमा इलेक्ट्रोकार्डियोग्राम (ईकेजी) प्रसारणको प्रयोगको अनुसन्धान गरेका थिए । त्यसपछि सन् १९२० को दशकमा, समुद्रमा चिकित्सा आपतकालीन अवस्थाहरूको समयमा सहायता गर्न चिकित्सकहरूलाई नाविकहरूसँग जोड्नको लागि जहाज रेडियोको प्रयोग गरिन्थ्यो ।
त्यस्तै, १९५५ मा, नेब्रास्का मनोरोग संस्थान स्वास्थ्य सुविधाहरूको लागि क्लोज–सर्किट टेलिभिजन प्रयोग गर्ने पहिलो सुविधाहरू मध्ये एक थियो । १९७० को दशकमा, सुदूर अलास्का र क्यानाडाली गाउँहरूमा पैरामेडिक्स उपग्रह मार्फत टाढाको शहरहरूका अस्पतालहरूसँग जोडिएर सेवा प्रदर्शन गर्न सक्षम थिए । आज, टेलीमेडिसिन प्रविधिमा प्रगतिशील प्रगति भएको छ र तीव्र रूपमा परिपक्व हुँदै गएको छ ।
टेलीमेडिसिनको सुरु अमेरिकी अन्तरिक्ष संस्था नासाले गरेको थियो । नासाले सन् १९६० को दशकमा अन्तरिक्षमा जाने आफ्ना अन्तरिक्ष यात्रीहरू र स्पेसक्राफ्टको स्वास्थ्यको हालचाल जान्नका लागि यस प्रविधिको प्रयोग गरेको थियो ।
पछि ग्रामीण इलाकामा यसलाई उपयोगी बनाउनको लागि सन् १९७१ मा नेशनल लाइब्रेरी अफ मेडिसिनले अलास्काका २६ गाउँमा यसलाई परीक्षण गरिएको थियो । त्यसपछि नासाले कम्प्युटर, इन्टरनेट लगायत सम्पूर्ण प्राविधिक सुविधाहरूको साथ सन् १९८९ मा आर्मेनियाको येरेवान शहरमा एउटा टेलीमेडिसिन केन्द्र औपचारिक रूपमा स्थापना गरेको थियो ।








