काठमाडौँ, सोमबार, ३० असार २०८२ । भलिबलको ‘प्लेयर अक्सन’ पहिलोपटक महिला भलिबल सुरु गरिने भएको छ ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिग अन्तर्गतको उक्त कार्यक्रम आगामी साउन २ गते (जुलाई १८, २०२५) काठमाडौँमा आयोजना हुनेछ। ६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितासहित यो प्रक्रिया नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा एक युगान्तकारी मोड सावित हुने अपेक्षा गरिएको छ।
प्रत्यक्ष बोलकबोल प्रणाली अन्तर्गत, टोलीहरूले राष्ट्रिय स्टार खेलाडीहरू, नवप्रतिभा र उदाउँदा खेलाडीहरूबीचबाट आफ्नो टिम बनाउने अवसर पाउनेछन्। यस प्रक्रियाले पारदर्शी, प्रतिस्पर्धात्मक र प्रतिभामा आधारित छनोट सुनिश्चित गर्नेछ, जसले खेलाडीहरूको क्षमता र योगदानलाई सम्मान दिने आयोजकको भनाई छ।
‘यो अक्सन मात्र होइन, नेपाली महिला भलिबलको लागि एक ऐतिहासिक मोड हो’ वात्सल्य एभरेष्ट महिला भलिबल लिगले भनेको छ, ‘पहिलोपटक नेपाली महिला भलिबल खेलाडीहरू यस्तो व्यावसायिक संरचनामा प्रवेश गर्दैछन्, जहाँ उनीहरूको सीप, बजार मूल्य र पहिचानलाई संस्थागत मान्यता दिइन्छ। हामी सबैका लागि यो गर्वको विषय हो ।’
अक्सन कार्यक्रम काठमाडौं मा हुनेछ । जहाँ विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुनेछ । यो अक्सनसँगै नेपाली महिला भलिबल नयाँ युगमा प्रवेश गर्ने आयोजकको विश्वास छ ।
भदौ २० देखि सुरु हुने लिगमा ६ टिमको सहभागिता रहनेछ जसमा कर्णाली यशवीस, गण्डकी थण्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेश युनाइटेड छन् ।
गत वर्ष भएको पहिलो संस्करणको इडब्लुभिएलको उपाधि कर्णाली यशवीसले जितेको थियो ।
अक्सन कार्यक्रम काठमाडौंमा, लिग पदाधिकारीहरू, फ्रेन्चाइज प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न हुनेछ ।







