गोरखा, बुधबार, ३२ असार २०८२ । ६१ करोड ६० लाखको बजेट रुपैयाँको अनुमानित पारित गर्दै आरुघाट गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न भएको छ । असार १० गते देखि सुरु भएको गाउँसभाको अधिबेसन बजेट पारित भएसँगै मंगलबार सकिएको हो ।
उक्त गाउँपालिकाले आगामी वर्ष आन्तरिक आयबाट ९५ लाख उठ्ने अनुमान गरेको छ । संघीय सरकारको वित्तीय समानीकरण अनुदान मार्फत १२ करोड ७८ लाख, राजस्व बाँडफाँडबाट १ करोड ३४ लाख ५९ हजार ९३६, सशर्त अनुदानबाट ३ करोड ५२ लाख विषेश अनुदान मार्फत ६८ लाख प्राप्त हुने अनुमान गरेको छ ।
त्यस्तै प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान मार्फत १ करोड ७४ लाख ६५ हजार, राजश्व बाँडफाँडबाट ९५ लाख ६६ हजार समपुरक अनुदान बापत ६० लाख, विषेश अनुदानबाट ६० लाख प्राप्त हुने लक्ष्य राखेको छ । यसैगरी चालु आर्थिक वर्ष २०८१÷०८२ को बैंक मौज्दात ३ करोड ७७ लाख ५९ हजार ६४ रुपैयाँ पनि बजेटमा समाबेश गरिएको छ ।
उक्त बजेटबाट आगामी वर्ष आर्थिक विकास तर्फ २ करोड २० लाख, कृषि तथा पशु तर्फ १ करोड ६० लाख, पर्यटन तथा संस्कृति प्रर्वद्धन तर्फ पुर्वाधार विकासको लाखि ४५ लाख र अन्य आर्थिक विकासको क्षेत्रका लागि १५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकास तर्फ ५ करोड १० लाख, शिक्षा तर्फ २ करोड ३० लाख, स्वास्थ्य तर्फ २ करोड ३० लाख बजेट छुट्याइएको छ । वडा तथा गाउँपालिकामा खेलमैदान निर्माण, सुधार र खेलकुद कार्यक्रम संचालन गर्नको लागि २१ लाख बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए । त्यस्तै लक्षीत वर्ग तर्फका विभिन्न कार्यक्रमको लागि ५० लाख, खानेपानी, पूर्वाधार तथा सरसफाईमा २५ लाख, पूर्वाधार विकास तर्फ ८ करोड २४ लाख बजेट बिनियोजन गरिएको उपाध्यक्ष कल्पना नेपालीले जानकारी दिइन् ।
असार १० गते सुरु भएको गाउँसभामा अध्यक्ष राजु गुरुङले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले दुध, मासु, अण्डा तथा कृषिजन्य नगदेबालीमा दिदै आएको अनुदानलाई निरन्तरता दिने घोषणा गरे ।
व्यावसायिक पशुपालन गर्न चाहने युवालाई ब्याजमा अनुदान दिने कार्यक्रम लागु गर्ने नीति गाउँपालिकाले लिएको छ । पालिकाले जनताको खाद्य तथा पोषण सुरक्षा सुधारमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको दिगो रोजगार सिर्जना तथा प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेर मिसन रोजगारी, दिगो रोजगारी र उद्यमशीलता प्रवद्र्धन अभियान सञ्चालन गरिने भएको छ । शहर उन्मुख नागरिकहरुलाई गाउँ फर्क अभियान सहित गाउँपालिका रोजगार रणनीति, उद्यमशीलता श्रम बजार अध्ययन तथा सिप विकास गर्ने नीति गाउँपालिकाले लिएको छ । समतामुलक र गुणस्तरीय जीवनउपयोगी शिक्षा सुनिश्चितता, समृद्धिका लागि उद्यमशील नागरिक उत्पादनमा आरुघाटको प्रतिबद्धता भन्ने दुरदृष्टिलाई आत्म साथ गर्नका लागि योजनाका आधारमा बार्षिक कार्यक्रम निर्माण गरिने भएको छ । विद्यालय तर्फ पढ्दै सिक्दै र सिक्दै कमाउँर्दै कार्यक्रम, गाउँपालिका सँग विद्यार्थी कार्यक्रम, भिमोदय बहुमुखी क्याम्पसलाई सरकारी क्याम्पसको रुपमा रुपान्तरण गर्न विषेश पहल गरिने नीति लिइएको छ । युवा जनशक्तिलाई उत्पादनमुलक र रोजगार मुलक बनाउन सिप मुलक तालिमको व्यवस्थापन गर्ने, बेरोजगार युवाहरलाई रोजगारको व्यवस्था गरी बिदेशिने क्रम रोक्ने कुरा नीति तथा कार्यक्रममा जोड दियएको छ ।
भौगोलिक अवस्था तथा स्वास्थ्य सम्बन्धी समस्या र चुनौतिलाई सम्बोधन गर्दै पालिकाभित्रका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा सर्भसुलभ रुपमा प्रदान गर्ने र फलफुल, हरियो सागपात खाऔँ निरोगी बनौ भन्ने सन्देश प्रवाह गर्न एक स्वास्थ्य संस्था÷एक वडामा हरेक सामुदायिक विद्यालयमा फलफुल करेसाबारीमा निर्माण गर्ने अभियान कार्यक्रम सञ्चालन गरिने भएको छ । आरुघाट बजार क्षेत्र, आर्खेत बजार क्षेत्र, आरुटारको फोहोर संकलन गरी डम्पिङ साइडमा पुर्याउने कार्यको सुरुवात गरिने छ । पूर्ण सरसफाई युक्त वडा घोषणा अभियानलाई गाउँपालिकाको अन्य वडाहरुमामा क्रमश विस्तार गर्दै लगिने नीति गाउँपालिकाले लिएको छ ।
महिला बालबालिका अपांग एवं जेष्ठ नागरिकहरुको लागि विभिन्न क्षमता विकासका तालिम कार्यक्रम तथा विभिन्न सुविधाहरु उपलव्ध गराउने नीति गाउँपालिकाको छ । कोहि नहुने र केहि नहुनेको साथमा घर नजिकको स्थानीय सरकार छ भन्ने अनुभूति गराउन सामाजिक संरक्षण मार्फत लक्षीत वर्गको नागरिकहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गाउँपालिकाको इतिहास, धर्म, सस्कृति रीतिरिवाज परम्परा, पर्यटकीय स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्नका लागि गाउँपालिका स्तरिय प्रोफाइल निर्माण गरिने छ । गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणको कार्यमा विपन्न व्यक्तिहरुलाई रोजगारी सृजना हुने वातावरण तयार पारिने छ । गाउँपालिकाको केन्द्र एवं प्रदेश सरकारको लागत साझेदारीमा विभिन्न सडकहरुलाई प्राथमिकता राखी स्तरोन्नतीको नीति अवलम्बन गरिने छ । वातावरण तथा विपद व्यवस्थापनको लागि विभिन्न खालका सचेतनामूलक तथा विपद कार्यका कार्यक्रम सञ्चालन गरिने छ । भने स्थानीय स्रोत दाउराको खपत गर्न र स्थानिय खर्च घटाउन सुधारिएको चुलो व्यवस्थापन तथा अनुदानमा विद्युतीय चलो उपलब्ध गराउन आवश्यक सहयोग र समन्वय गर्ने नीति गाउँपालिकाले लिएको छ ।









