गोरखा, मंगलबार, ६ साउन २०८२ । गोरखा भुकम्पको केन्द्रविन्दु गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाकस्थित भुकम्प स्मृति उद्यानमा गोरखा भुकम्पमा परि ज्यान गुमाएकाहरुको नामावली राखिएको छ ।
बि.स २०७२ साल बैशाख १२ गते गएको विनासकारी भुकम्पमा परेर ज्यान गुमाएका गोरखाका ४९० जनाको नामावली स्मृति उद्यानमा राखिएको संघीय आयोजना कार्यान्वयन इकाई पोखराका इन्जिनियर पुरुषोत्तम पंगेनीले जानकारी दिनुभयो ।
स्मृति उद्यानमा भुकम्पमा परेर ज्यान गुमाएका १४ वटै जिल्लाका मृतकको नामावली छुट्टाछुट्टै स्तम्भमा राख्ने भनिएपनि गहृमन्त्रालयबाट सवैको नामावली प्राप्त नसक्दा गोरखाका मृतकहरुको मात्र नामावली राखिएको उहाँले बताउनुभयो ।
इन्जिनियर पंगेनीले भन्नुभयो, ‘‘ गृहमन्त्रालयमा धेरै पटक पत्राचार भयो । गोरखावाहेकका अन्य १३ जिल्लाका मृतकको नाम उपलब्ध हुन नसकेपछि केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट नै गोरखाका मृतकको मात्र नाम राख्ने निर्णय भएर आइसकेको छ । अव अरु जिल्लाका मृतकका नामावली स्मृति उद्यान नराख्ने निश्चित भएको छ ।’’
गोरखा भुकम्पमा परेर ज्यान गुमाएका सवैको नामावली प्राप्त नहुँदा स्मृति उद्यानको सम्पन्नतामा ढिलाइ हुँदै आएको छ । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरि उद्यान निर्माणको काम अगाडी बढाइएकोे थियो ।
सरकारी स्वामित्वको करिब २ सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य संरचना निर्माण गरिएको छ । त्यस्तै स्मृति स्तम्भ मण्डला, मण्डलामा चिप्स राख्ने, रङरोगन, स्मृति उद्यान पुग्ने चार सय मिटर सडक कालोपत्रको काम यसअघि नै सम्पन्न भइसकेको ठेकेदार कम्पनीस्वच्छन्द÷होम निर्माण जेभीका भोला मरहठ्ठाले जानकारी दिनुभयो ।
स्मृति उद्यान भित्र क्यानटिन पार्क, टिकट काउन्टरसमेत निर्माण गरिएको छ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थल पनि निर्माण भएको उहाँले बताउनुभयो । आयोजना कार्यान्वयन इकाइले रु १३ करोड ६ लाख ३४ हजार स्मृति उद्यान निर्माणका लागि ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता गरेको थियो ।








