काठमाडौँ, बुधबार, ७ साउन २०८२ । नेपाली चलचित्रका छायाँकार तथा निर्माता पुरुषोत्तम प्रधानले सोमबार चलचित्र विकास बोर्डलाई एकैपटक आफ्ना ६० भन्दा बढी चलचित्रका पटकथा (स्क्रिप्ट) हस्तान्तरण गर्नुभएको छ ।
बोर्डलाई हस्तान्तरण पछि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुरुषोत्तमको योगदानलाई ‘नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार’ भनेर सम्मान गर्नुभयो । उहाँले भन्नुभयो, ‘पटकथा नै चलचित्रको आत्मा हो । यी स्क्रिप्टहरू संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीहरूका लागि प्रेरणा र शोधको स्रोत बनेको छ ।’
पुरुषोत्तमले छक्का पञ्जा शृंखला (छक्का पञ्जा, छक्का पञ्जा ३)’, कबड्डी शृंखला-कबड्डी, कबड्डी २, कबड्डी ३), लुट शृंखला (लुट, लुट २), नाई नभन्नु ल शृंखला (नाई नभन्नु ल २, नाई नभन्नु ल ४, नाई नभन्नु ल ५), लप्पन छप्पन शृंखला (लप्पन छप्पन, लप्पन छप्पन २), दासढुंगा, झोले, ड्रिम्स, राजा रानी, जय भोले, मायाज् बार, कृ, फिटकिरी, उमा, प्रेमगीत २, तान्द्रो, होमवर्क, थ्री लभर, कमला, सिग्नेचर, जय होस्, ऐँचो-पैँचो, छ एकान छ, द विनर, मेरी मञ्जु, महाजात्रा , लक्का जवान, मेरो एउटा साथी छ, आई एम सरी, रातो टीका निधारमा, चपली हाइट-३, इकु, कान्छी, कार्साङसँगै सर्ट फिल्महरू सहकारी, जुनेली र अन्तर्राष्ट्रिय पुरस्कार विजेता क्वीनस् अवार्ड विनिगं ईन सिनेमाटोग्राफी को स्क्रिप्ट पनि हस्तान्तरण गर्नुभएको छ ।
बोर्डले प्रधानको योगदानलाई ‘नेपाली चलचित्र जगतको दीर्घकालीन हितको एक महत्वपूर्ण कदम’ भनेर उल्लेख गरेको छ । बोर्डले सम्पूर्ण चलचित्रकर्मीलाई आहृवान गर्दै भनेको छ, ‘तपाईंहरूका मौलिक स्क्रिप्ट, दस्तावेज र कलाकृतिहरू संरक्षण गर्न चलचित्र विकास बोर्डमा योगदान पुर्याउनुहोस् । यसले नेपाली चलचित्रको विरासतलाई अमर बनाउनेछ ।’ पुरुषोत्तम नेपाली चलचित्र उद्योगमा ३० वर्षदेखि सक्रिय हुनुहुन्छ । उहाँ ‘भिजिलान्ते (नेपालको पहिलो पूर्ण थ्रिडी फिल्म)को छायाँकारसमेत हुनुहुन्छ ।








