Wednesday, December 10, 2025
11.1 C
Kathmandu
spot_img
Homeराजनीतिपूर्वराष्ट्रपतिकै हैसियत सम्मान गर्ने बैठकको निर्णय

पूर्वराष्ट्रपतिकै हैसियत सम्मान गर्ने बैठकको निर्णय

spot_img

ललितपुर, बुधबार, ७ साउन २०८२ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ । दुई दिनसम्म चलेको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

“राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनीतिक पुनः सक्रियता संस्थागत मर्यादाविपरीत हुने निष्कर्षमा बैठक पुगेको हो,” बैठकपछि अयोजित पत्रकार सम्मेलनमा गौतमले भन्नुभयो ।

“राष्ट्राध्यक्ष जस्तो उच्च पदमा पुगेको व्यक्तिलाई तल ल्याएर काम लगाउने कुरा उहाँप्रतिको पनि अपमान हुन सक्छ भन्ने भावना बैठकमा व्यक्त भयो,” गौतमले उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो ।

पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताले पार्टीको अबको ध्यान ‘मिसन ८४’ मा जानुपर्ने र त्यसका लागि केपी शर्मा ओलीको नेतृत्वमा अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो । ७० वर्षको उमेरहद र दुई कार्यकाल हटाएर एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले पुनः अध्यक्ष हुनबाट रोक्न नचाहेको गौतमले स्पष्ट पार्नुभयो । योग्यता पुगेका पार्टीका नेताहरू अध्यक्षको प्रतिस्पर्धामा आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

पूर्वराष्ट्रपतिको हकमा भने भोलि जनताले प्रणाली माथि उठाउन सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झन्डा बोकेर हिँड्नुहुँदैन भनेर यो निर्णयमा पुगिएको गौतमले स्पष्ट पार्नुभयो । बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपतिको पार्टीमा सक्रिय हुने कुरा एमालेको मात्र नभएर सबै पार्टीका लागि गम्भीरताको विषय भएको बताउनुभयो । “पूर्वराष्ट्रपतिप्रति हामी सबैको गौरव छ, हामी अगाडि बढाउने छौँ,” अध्यक्षको भनाइ उद्धृत गर्दै गौतमले बताउनुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी नहुने बताउँदै पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारी अब ‘कमरेड’ विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको घोषणा गर्नुभएको हो । गणतन्त्रको संरक्षक, सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको पनि प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो । प्रधानमन्त्री ओलीले भण्डारीलाई गणतन्त्र गौरवले सम्मान गरेको प्रसङ्ग निकाल्दै भन्नुभयो, “सबै पार्टीका नेता बोलाएर गणतन्त्र गौरवले सम्मान गरेको दलको राजनीतिभन्दा माथि हो भनेर हो । राजा हटाएर बनाएको संस्थाको प्रमुख भएको व्यक्तिलाई हामी सबैले सम्मान गर्नु पर्छ । पार्टीले सम्मान गर्छ ।”

उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र पोलिटब्युरो सदस्य कर्ण थापाले भण्डारीलाई राजनीतिमा आउन बाटो खुला राख्नुपर्ने धारणा राख्नुभएको थियो । साउन १ बाट सुरु भएको एमालेको सचिवालय, पोलिटब्युरो र सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक मङ्गलबार सम्पन्न भएको हो । दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा २६४ जना केन्द्रीय सदस्य पोलिटब्युरो सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । सोमबार र मङ्गलबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले एमालेको ध्यान ‘मिसन ८४’ मा जानुपर्ने बताउनुभयो । एमालेमा भएको बैठकका निर्णय अब छलफलका लागि तल्ला कमिटीमा पठाएर आएका सुझाव समेटेर विधान महाधिवेशनमा पेस हुने छ ।

म सक्रिय राजनीतिमा आइसकेँ : भण्डारी

यसैबिच पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सक्रिय राजनीतिमा आइसकेको उल्लेख गर्नुभएको छ । आफ्नै निवास भङ्गालमा मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले एमालेको राजनीतिबाट आफू पछि नहट्ने बताउँदै कार्यकर्तालाई विभाजित नगराउन पार्टी नेतृत्वसँग अनुरोध गर्नुभयो ।

महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको भन्दै त्यसमा उहाँले एमाले नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । उहाँले जिल्ला र प्रदेशदेखि नै समूह बनाएर कार्यकर्तालाई अप्ठ्यारो पार्ने र बोल्न नदिने प्रयास भइरहेको उल्लेख गर्नुभयो । आफूले कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको भन्दै अनावश्यक रूपमा विवाद नगराउन अनुरोध गर्नुभयो । भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुरा भएको दाबी गर्नुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img