गोरखा, शनिबार, १० साउन २०८२ । गोरखाको सहिद लखन गाउँपालिका वडा नं. ३ मा किसानलाई उत्पादनमा आधारित अनुदान तथा ढुवानी भाडा वितरण गरेको छ ।
नयाँ पुल कृषि उपज उपभोक्ता सहकारी संस्था लि. को आयोजनामा कृषि तर्फ उत्पादनमा आधारित अनुदान तथा कृषकलाई ढुवानी भाडा वितरण गरिएको हो । ‘पालिकाले किसानहरुलाई प्रोत्साहन गर्न कृषि तर्फ उत्पादनमा आधारित अनुदान कार्यक्रम राखेको थियो,’ वडा नं. ३ का अध्यक्ष दिपक पाण्डेले भने, ‘सोही अनुसार यस क्षेत्रका किसानलाई उहाँहरुको उत्पादनका आधारमा प्रतिकिलो ५ रुपैयाँको दरले अनुदान दिएका छौं ।’ पालिकाले बनाएको कार्यविधि अनुसार वितरण गरेको उनले बताए ।
३५ जना किसानहरुले २६ हजार ७४४ किलो तरकारीहरु उत्पादन गरी बिक्री गरेको वडाध्यक्ष पाण्डेले जानकारी दिए । सोही आधारमा १ लाख ८७ हजार २०८ रुपैयाँ उत्पादनमा आधारित अनुदान वितरण गरिएको उनले बताए । ‘पहिला बास्तविक किसानलाई अनुदान पाएनन् भन्ने गुनासा आएको थियो,’ उनले भने, ‘त्यसकारण बास्तविक किसानले अनुदान पाउन भन्ने उदेश्यले बितरण गरेका हौं ।’
बिक्री नभएका उत्पादन हाट बजारले नै किनिदिने गरेको छ । कृषकलाई ढुवानी भाडा भने वडाको बजेटबाट वितरण गरिएको छ । ‘कृषि उत्पादनलार्ई बजारीकरण गर्न रामशाह घाटसम्म लैजानको लागि आवतजावतमा भाडा धेरै खर्च पर्न जान्छ,’ उनले भने,‘त्यसकारण बजारसम्म लैजान किसानलाई समस्या नहोस् भनेर हामीले विभिन्न ठाउँको भाडा निर्धारण गरेका छौं । सोही अनुसार उहाँहरुलाई रकम वितरण गरेका हौं ।’
यसले उत्पादन भएको कृषि ृउपजलाई बजारीकरण गर्न मद्धत पुग्ने र किसानलाई कृषि गर्न थप हौसला मिलेको दिएको वडाध्यक्ष पाण्डेको विश्वास छ । ‘यो कार्यक्रम हामीले गत वर्ष देखि नै सुरु गरेका थियौं, उनले भने, यो वर्ष भने बृहत रुपमा गरेका हौं ।
कृषकहरु पनि धेरै खुसी हुनुहुन्छ ।’ आगामी वर्षका पालिकाले कृषि एम्बुलेन्स किनेर चलाउने कार्यक्रम रहेका उनले बताए ।
अध्यक्ष चित्रबहादुर बयलकोटीका अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका कृषि अधिकृत नभिन अधिकारी र राष्ट्रिय कवि नारायण प्रसाद पोखरेलले मन्तव्य राखेका थिए ।








