गोरखा, आइतबार, ११ साउन २०८२ । धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा बेलिब्रिज निर्माणको काम सम्पन्न भएको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको बजेटबाट बेलिब्रिज निर्माण गरेको हो ।
गत आइतबारदेखि सो पुलको कामले तिब्रता पाएकोमा बिहिबार निर्माण सम्पन्न भएको आयोजनाका प्रतिनिधि इन्द्रप्रसाद गुरुङले जानकारी दिनुभयो । पुलको लम्बाइ ३६.५८ मिटर र चौडाइ चार मिटर रहेको छ । पुल निर्माण भएसँगै धार्चेका विभिन्न वडाहरु र चुमनुब्री गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् ।
साथै, बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण स्थल जान पनि पुल बनेपछि सजिलो हुन्छ । खोर्लावेशीमा पुल नबन्दा बर्खाका बेला आयोजना स्थल पुग्न असम्भव थियो ।









