Wednesday, December 10, 2025
11.1 C
Kathmandu
spot_img
Homeबिशेषपृथ्वीमान गुरुङको जीवन संघर्ष

पृथ्वीमान गुरुङको जीवन संघर्ष

spot_img

चितवन, आइतबार, ११ साउन २०८२ । शनिबार बिहान सामाजिक सञ्जालमा एकाएक दुखद खवरले भरियो । जहाँ खवर थियो एउटा युगको, एउटा सोचको र एउटा जीवन यात्राको अन्त्यको । गण्डकी प्रदेशका पुर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ बर्षको उमेरमा दिव्यनगरस्थित आफ्नै निवासमा निधन भएको खवरले सामाजिक सञ्जाल भरिएको हो । उहाँको मृत्युसँगै नेपाली राजनीति र समाजसेवाको एउटा महत्वपूर्ण अध्याय समाप्त भएको छ ।

लामो समयदेखि क्यान्सरसँग लडिरहेका गुरुङको जीवन अन्ततः संघर्षपूर्ण शान्तिमा परिणत भयो । २००६ सालमा माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मनुभएका गुरुङको जीवन यात्रा साधारण जन्मदेखि असाधारण योगदानसम्म फैलिएको छ। पोखराको फेदीमा बाल्यकाल बिताउनुभएका गुरुङको चेतना चितवनको माटोसँग गहिरो सम्बन्ध राख्थ्यो। यही माटोमा उहाँका मामा हरिप्रसाद गुरुङले २०१८ सालको आन्दोलनमा ज्यान गुमाउनुभयो । त्यो बलिदानले गुरुङको जीवनमा राजनीतिक चेतनाको बीउ रोपेको थियो।

राजनीतिमा उहाँको सक्रियता नेपाली कांग्रेसको विभाजनपछि झल्किएको हो। कांग्रेस (प्रजातान्त्रिक) को सभापति भएर संगठनलाई गतिशील बनाउँदै, उहाँले सुकुम्वासी समस्या आयोग नवलपरासीको अध्यक्षका रूपमा भूमिहीनहरूको जीवनमा आशाको उज्यालो देखाउनु भयो।
तर सार्वजनिक जीवनजस्तै, उहाँको व्यक्तिगत जीवन पनि सजिलो थिएन। क्यान्सरसँगको लामो संघर्ष कुनै चर्को भाषण होइन । त्यो त मौनता भित्रको साहस, पीडा र आत्मबलको कथा हो । त्यो कथा, जुन सहनशीलताले लेखिएको छ ।

२०७८ साल साउन १२ गते, उहाँलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी सुम्पिनुभयो। त्यो केवल राजनीतिक पद मात्र थिएन उहाँप्रतिको सम्मान र उहाँको दीर्घ योगदानको औपचारिक कदर थियो ।

गुरुङको निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि स्थानीय बासी शोकमा छन् । धेरैले उहाँलाई ‘सादगी र निष्ठाको प्रतिमूर्ति’ भनेका छन्। उहाँका श्रीमती र एक छोरा छन्, जो हाल क्यानडामा रहेका छन्। छोराको आगमनपछि मात्रै देवघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। नेपाली कांग्रेसका स्थानीय नेता दलबहादुर गुरुङका अनुसार दिवंगत गुरुङको सम्मानमा श्रद्धाञ्जली सभा आयोजना हुने तयारी भइरहेको छ ।

पृथ्वीमान गुरुङ अब हामी माझ हुनुहुन्न, तर उहाँको राजनीतिक आदर्श, सामाजिक निष्ठा र व्यक्तित्वको उज्यालो युगौंसम्म समयको कापीमा अमिट अक्षरमा सम्झना गरिनेछ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img