काठमाडौँ, मंगलबार, १३ साउन २०८२ । मुख्यमन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशसभा विघटन गर्ने सक्ने आफूसँग विकल्प रहेको प्रतिक्रिया दिएपछि एमालेले ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री लामाले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रदेश सभा विघटन गर्ने आफूसँग विकल्प रहेको र सत्ता साझेदार दल नेकपा एमालेसहितका सत्ता साझेदार दलहरूले पनि सोही अनुसारको सुझाव दिएको बताएपछि एमालेले आपत्ति जनाएको हो ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सभा विघटन गर्ने जस्तो घातक सुझाव नेकपा एमालेले कहिल्यै नदिएको र नदिने जानकारी गराए ।
उनले नेपाली काँग्रेससँगको सहकार्य निरन्तर जारी रहने पनि जनाए ।
बागमतीका मुख्यमन्त्री बहादुरसिंह आफ्नै २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् । काठमाडौँबाट आज सोमबार हेटौँडा पुगेका लामा छलफलमा जुटेका छन् ।
काँग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेको जनाइएको छ ।









