काठमाडौँ, बुधबार, २१ साउन २०८२ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उधारो असुलीसम्बन्धी कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । जीतपुरसिमरा उद्योग वाणिज्य संघको आठौं स्थापना दिवस तथा नवनिर्मित सभाहल उद्घाटन गर्दै उहाँले उधारो असुलीसम्बन्धी कार्यान्वयनयोग्य कानुनी व्यवस्थामा जोड दिनुभएको हो । अध्यक्ष ढकालले उक्त विषयमा महासंघले सरकार नियामक निकायसँग पैरवी गरिरहेको समेत बताउनुभयो ।
महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै उहाँले महासंघको पहल र पैरवीले सरकारले विभिन्न ३० वटा कानुनहरू संशोधन गरेको र त्यसबाट लगानीमैत्री वातावरण सिर्जना भएको बताउनुभयो । निजी क्षेत्रको सुदृढीकरणमार्फत् देशको समग्र आर्थिक विकास सम्भव हुने ढकालको भनाइ थियो । उहाँले महासंघले रोजगारदाता र श्रमिकसँगको सम्बन्ध सुमधुर बनाउन तथा न्यूनतम ज्याला तय गर्ने विषयमा पनि रचनात्मक ढंगले काम गरेको बताउनुभयो ।
अध्यक्ष ढकालले जीतपुर सिमरा उद्योग वाणिज्य संघले नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीका समस्या समाधान गर्न र स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रका रूपमा उल्लेख गर्दै सो क्षेत्रको भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथजस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको पनि उहाँले बताउनुभयो ।
संघले साना तथा मझौला उद्यम प्रवद्र्धन, रोजगारी सिर्जना, कर तथा प्रशासनिक झन्झट समाधान र पूर्वाधार सुधारमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिन थप रचनात्मक कार्य हुने अपेक्षा गरिएकोे ढकालले बताउनुभयो । महासंघले सरकारसँग सहकार्य गर्दै नीति सुधार, लगानीमैत्री वातावरण र अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा काम गरिरहेको उल्लेख गर्दै उहाँले देशको आर्थिक पुनरुत्थानका लागि निजी–सरकारी साझेदारी अपरिहार्य भएको धारणा राख्नुभएको थियो ।









