काठमाडौँ, बिहीबार, २२ साउन २०८२ । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले काम गर्न सक्ने उमेरका एकल महिलालाई भत्ता होइन, सीप र रोजगारी दिनुपर्ने सुझाव दिनुभएको छ ।
महिला तथा सामाजिक मामिला समितिको बिहीवारको बैठकमा बोल्दै सांसद मियाँले सरकार भत्ता दिनेमै सीमित भएको आरोप लगाउँदै भन्नुभयाे, “२० वर्षदेखि नै एकल महिला हुने सम्भावना हुन्छ, त्यो उमेर श्रम गर्ने हो तर, राज्यले उनीहरूलाई केवल भत्तामा सीमित गरेको छ, यो गम्भीर लापरवाही हो । ठोस उपलब्धि शून्य छ।”
सुरक्षा भत्ता दिनुपर्ने सांसद खातुनको माग
सोही बैठकमा नेपाली कांग्रेसकी सांसद जावेदा खातुन जागाले मानव सेवा आश्रममा अभिभावक भएका बालबालिका पाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।
उहाँले बालबालिकाहरू गरिबीका कारण आश्रममा पुर्याइएको भन्दै त्यस्ता बालबालिकाका लागि सुरक्षा भत्ता र पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराउनुपर्ने माग गर्नुभयो।









