काठमाडौँ, बिहीबार, २२ साउन २०८२ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवं खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो ।
देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सकेमात्रै खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्नसक्ने उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको धारणा राख्नुभयो । उहाँले फाइटर रविन्द्र ढाँटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूको लागि गौरवको विषय भएको बताउनुभयो ।
एक लाख ११ हजारसहित सम्मान गर्दैै दुर्गाथली
म्याट्रिक्स फाइट नाइट (एमएन-१७) च्याम्पियन रवीन्द्र ढाँटलाई बझाङको दुर्गाथली गाउँपालिकाले एक लाख ११ हजार १११ रुपैयाँसहित सम्मान गर्ने भएको छ । बुधबार (साउन २१) गाउँपालिकाले सूचना जारी गर्दै रवीन्द्रलाई एमएन-१७ को च्याम्पियन बनेकामा बधाई ज्ञापन गरिएको छ । उक्त नगद राशि प्रदान गरिने जनाइएको छ ।
‘प्रतिभावान् खेलाडी रवीन्द्रको आगामी खेल यात्राको थप सफलताको शुभकामना व्यक्त गर्नुका साथै पालिकाका तर्फबाट सम्मान स्वरूप एक लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्दछौँ,’ सूचनामा उल्लेख छ ।
रवीन्द्र ‘बझांगी बाघ’ उपनामले परिचित हुनुहुन्छ । गएको शनिबार (साउन १८ गते) भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उहाँ च्याम्पियन बन्नुभएको हो । उहाँले कोरेनलाई तेस्रो राउण्डमा नकआउट गर्नुभएको थियो ।
रवीन्द्रले ‘लक एण्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो । उहाँ एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुनुहुन्छ । एसिया प्रशान्त उपक्षेत्रको पनि वरीयताभित्र समावेश हुनुहुन्छ ।









