Wednesday, December 17, 2025
13.1 C
Kathmandu
spot_img
Homeकानुनसरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउने तयारीमा

सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउने तयारीमा

spot_img

काठमाडौँ, सोमबार, २६ साउन २०८२ । यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन लागेको छ ।

सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि सो विधेयक संसद्मा पेस गरिने छ ।

मन्त्रालयका सहसचिव एवं पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले सडक यातायात सेवा सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउनुका साथै बढ्दै गएको ट्राफिक नियम उल्लङ्घन न्यून गर्न नयाँ ऐन ल्याउन लागिएको बताउनुभयो ।

नयाँ ऐनमा ट्राफिक नियम उल्लङ्घनका ३४ वटा गल्तीमा तत्काल कारबाही हुने प्रस्ताव गरिएको छ । त्यसै गरी पाँच सयदेखि ५० हजार रुपियाँ जरिबाना गर्न सकिने व्यवस्था गरिएको छ । चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपियाँ जरिबाना गरिने व्यवस्था गरिएको हो । ऐनमार्फत एकै पटक कारबाहीको दायरा र जरिबाना रकम बढाउन लागिएको उहाँको भनाइ छ ।

कसैलाई किची, ठक्कर दिई सो व्यक्तिको मृत्यु भएको अवस्थामा ज्यान मार्ने मनसाय प्रमाणित भए सवारीसाधन चलाउने व्यक्तिलाई जन्मकैद व्यवस्था प्रस्ताव गरिएको छ । नयाँ ऐन लागु भइसकेपछि ट्राफिक नियम उल्लङ्घन गर्ने निरुत्साहित हुनुका साथै मुलुकको यातायात थप व्यवस्थित हुने महाशाखा प्रमुख पन्थको भनाइ छ । जरिबाना कम हुँदा ट्राफिक नियम उल्लङ्घन बढ्ने गरेको बताउँदै उहाँले उल्लङ्घन निरुत्साहित गर्न ऐनमार्फत जरिबाना बढाउन लागिएको स्पष्ट पार्नुभयो ।

के के छ जरिबाना ?

रातको समयमा बत्ती नबाली सवारीसाधन चलाएमा दुई हजार, सार्वजनिक सवारीमा यात्रीलाई खतरा हुने गरी सामान ढुवानी गरेमा तीन हजार, वन–वे सडकमा सवारी चलाए एक हजार, प्रशिक्षण अवधिमा तोकिएको स्थानमा प्रशिक्षक साथमा नराखी सवारी चलाएमा तीन हजार, ट्राफिक प्रहरीले दिएको सङ्केत (इसारा) उल्लङ्घन गरेमा एकदेखि दुई हजार, सार्वजनिक सवारीमा यात्रीलाई टिकट नदिएमा दुई हजार रुपियाँ जरिबाना गरिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

त्यसै गरी विधेयकमा निषेधित क्षेत्रमा हर्न बजाएमा पाँच सय रुपियाँ, लामो बाटोमा सञ्चालन हुने सवारीसाधनले प्रत्येक आठ घण्टामा चालक परिवर्तन नगरेमा पाँच हजार, सवारीसाधनबाट सडकमा फोहोर फालेमा एक हजार, सार्वजनिक सवारीसाधनको जाँचपास प्रमाणपत्र अद्यावधिक नगरी सवारी चलाएमा दुईपाङ्ग्रेको हकमा पाँच हजार, तीनपाङ्ग्रे र साना सवारीको हकमा १० हजार र मझौला तथा ठुला सवारीका हकमा १५ हजार रुपियाँ जरिबाना गरिने व्यवस्था गरिएको छ ।

त्यसै गरी ट्राफिक चिह्न र सङ्केत पालना नगरेमा एक हजार, नयाँ व्यवस्था अनुसार तोकिएकाभन्दा बढी गतिमा सवारी चलाए पाँच हजार रुपियाँ, अरूलाई हानि पुग्ने गरी सवारी चलाएमा २५ हजार रुपियाँ, ओभरटेक गर्न नहुने ठाउँमा ओभरटेक गरेमा दुई हजार, सार्वजनिक सवारीसाधनमा भाडादरको सूची नराखेमा एक हजार रुपियाँ जरिबाना प्रस्ताव गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक प्रहरीले अहिले काठमाडौँ उपत्यकामा मासिक करिब ९० हजार सवारीसाधनलाई सडक नियम मिचेकोमा कारबाही गरिँदै आएको जानकारी दिनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img