काठमाडौँ, शनिबार, ३१ साउन २०८२ । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी भाद्र २ गतेसम्म काठमाडौँमा सामाजिक सुरक्षा भत्ता नविकरणलाई निरन्तरता दिने भएको छ । सिरानचोक गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण कार्यक्रम अन्तर्गत काठमाण्डौँमा बसोबास गर्ने सिरानचोकबासीले पहिलो दिन ६० जना लाभग्राहीले सेवा लिनु भएको छ ।
सिंहदरबारको अधिकार गाउँगाउँ पु¥याउने संकल्पसाथ संविधानमै परिकल्पना गरेर स्थापना भएका स्थानीय सरकार आफ्ना सेवाग्राही नागरिक खोज्न उपत्यका र क्षेत्रीय सहर पुग्न थालेका छन् ।
केन्द्रीकृत सरकार हुँदा नागरिकलाई अस्थायी तथा घुम्ती शिविर लिएर गाउँ गएका समाचार सार्वजनिक हुने गरेकामा अहिले गाउँघरमा रहेका स्थानीय सरकार प्रादेशिक र संघीय सदरमुकाम बस्ने सेवाग्राहीलाई अस्थायी शिविरमार्फत सेवा दिन सदरमुकाम जाने गरेका हुन् ।
गोरखाको सिरानचोक गाउँपालिकाले पनि काठमाडौं उपत्यकामा बसोबास गरिरहेका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकहरूको परिचयपत्र नवीकरणसहित सेवाको शिविर नै सञ्चालन शुक्रबारदेखि सुरु गरेको छ ।
पालिकाका अनुसार घुम्ती शिविर भाद्र २ गतेसम्म होटेल चार्मिङ्ग दरबार (बनस्थली चोकबाट चमति जाने बाटोमा १०० मि अगाडी) सञ्चालन हुनेछ ।
गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे स्थानीय सरकारले आफ्ना नागरिकलाई सहज सेवा दिन कानुनभित्र रही जस्तोसुकै निर्णय गर्न पनि स्वतन्त्र रहेको बताउनु भयो ।
अझ देशैभर एउटै प्रणालीबाट काम हुने सामाजिक सुरक्षा भत्ताको परिचयपत्र निर्माण, बायोमेट्रिक्स तथा सिस्टममा भएको विवरणको सनाखतसहितका नवीकरणका लागि आफ्नै स्थानीय तह जानुपर्ने बाध्यता हटाएर अन्तरस्थानीय तह समन्वयमा जहाँसुकैको स्थानीय तहबाट गर्न सकिनेगरी सहजीकरण गर्न पनि संघीय सरकारले समन्वय गरिदिनुपर्ने तर्क उहाँको छ ।









