गोरखा, आइतबार, १ भाद्र २०८२ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका कृषकलाई प्रोत्साहन स्वरुप उत्पादनका आधारमा नगद अनुदान वितरण गरिएको छ । आर्थिक बर्ष २०८१÷०८२ मा पालिका भित्रका कृषकलाई उत्पादनका आधारमा रु ४ लाख ६७ हजार ५०० नगद अनुदान उपलब्ध गराइएको गाउँपालिका कृषि शाखाका प्रमुख अनिल नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले तोकेको मापदण्ड अनुसार खेती गरेर उत्पादन गर्ने किसान, कृषि समुह, फलफुल तथा पशुपन्छी फर्मलाई नगद अनुदान उपलब्ध गराइएको हो । नगद अनुदान कार्यक्रमका लागि बिभिन्न ५ वटा कृषि समुह, फलफुल तथा पशुपन्छी फर्म र १० जना कृषक छनौटमा परेका थिए ।
जस अन्र्तगत डल्ले खुर्सानी, ड्रागन फलफुल तथा मह उत्पादन, केरा खेती, आलु खेती तथा सुन्तला खेती गर्ने किसानहरुले नगद अनुदान पाएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । त्यस्तै मकै उत्पादन, किवी फलफुल उत्पादन, मार्सी धान तथा फापर उत्पादन गर्ने किसानले पनि नगद अनुदान पाएका छन् ।
‘‘धानखेती अत्यन्तै न्युन हुने धार्चे गाउँपालिका–३, उहियाँका उहियाँ कृषक आमा समुहले सामुहिक रुपमा परीक्षणका लागि सुरु गरेको मार्शी धान खेती अत्यन्तै राम्रो भयो, उहाँले भन्नुभयो,‘‘ गतबर्ष मात्रै झण्डै २० मुरी भन्दाबढी धान समुुहले उत्पादन गर्न सफल भयो, यसबाट अन्य किसानलाई पनि धान खेतीका प्रोत्साहन मिलेको छ ।’’
गाउँपालिकाले कृषकलाई वितरण गरेको नगद अनुदान कार्यक्रममार्फत न्युनतम रु ९ हजारदेखि रु ५१ हजारसम्म उपलब्ध गराइएको उहाँको भनाई छ । गाउँपालिका कृषि उत्पादन बढाउन तथा अन्नवाली, फलफुल तथा माछामासुमा पालिकालाई आत्मानिर्भर बनाउने उद्देस्यसहित किसान प्रोत्साहन कार्यक्रममा जोड दिदै आएको छ ।









