ललितपुर, सोमबार, ९ भाद्र २०८२ । इन्स्पायरिङ, ड्रिम्स, गाइडिङ फ्युचर्स-टुगेदर भन्ने नाराका साथ ललितपुरका विद्यार्थी तथा अभिभावकलाई विश्वस्तरीय शैक्षिक अवसर आफ्नै शहरमा उपलब्ध गराउने उद्देश्यले एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल(इक्यान) ललितपुरले ‘इक्यान ललितपुर नेक्स्टजेन ग्राण्ड एज एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।
भदौ ११ गते होटल हिमालयमा आयोजना हुने उक्त एक्स्पोले विद्यार्थी र अभिभावकलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्ने, अध्ययन अवसरबारे विस्तृत जानकारी लिने तथा आफ्नो भविष्यको योजना बनाउन अद्वितीय अवसर प्रदान गर्ने आयोजकले जनाएको छ । आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा इक्यान ललितपुरका सचिव सनम महर्जनले एक्स्पोको ललितपुरका विद्यार्थीलाई घरमै विश्वस्तरीय शैक्षिक विकल्प पाउन सहज बनाउने उद्देश्य रहेको बताउनुभयो ।
ललितपुर इक्यानका अध्यक्ष अरविन्दकुमार सिंहले भन्नुभयो, ‘यो अवसर नछुटाउनुहोस् । आफ्ना क्वेरिज, डुवेट्स एण्ड ड्रिम्स लिएर आउनुहोस् । हाम्रो टोली र अन्तर्राष्ट्रिय प्रतिनिधिहरू तपाईंलाई पूर्ण मार्गदर्शन दिन तयार छन् ।
शिक्षा जीवनको ठूलो लगानी हो र अहिलेको सही निर्णयले तपाईंको भविष्य निर्धारण गर्छ । २७ अगस्टमा होटल हिमालयमा भेटौं र तपाईंको शैक्षिक यात्राको नयाँ अध्याय सुरु गरौं ।’ उक्त शैक्षिक महोत्सवमा अस्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत, अमेरिका, युएई, साइप्रस, मलेसिया, भारत र नेपालका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।
सहभागी संस्थानहरूमा युनिभर्सिटी अफ वैकाटो, युनिभर्सिटी अफ अकल्याण्ड, रोयल रोड्स युनिभर्सिटी, लिभरपुल जोन मुरेस युनिभर्सिटी, वेब्स्टर युनिभर्सिटी, एनएपिएस, एसएएचई, युक्लान युनिभर्सिटी-साइप्रस, शुलिनी युनिभर्सिटी-भारत साथै नेपालका एआइटिएम कलेज र द वेस्टमिनिस्टर कलेज रहेका छन् ।
इक्यान ललितपुरले सुरुदेखि नै पारदर्शिता, नैतिक अभ्यास र भरपर्दो सेवामा विशेष जोड दिएको र सोही प्रतिबद्धताका आधारमा महोत्सवमार्फत् विद्यार्थी र अभिभावकलाई सुरक्षित र सहज वातावरणमा विश्वस्तरीय शैक्षिक अवसर उपलब्ध गराउने उद्देश्य रहेको अध्यक्ष सिंहको भनाइ थियो ।









