Wednesday, December 17, 2025
13.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियनागढुङ्गा सुरुङमार्ग : असोजभित्र सञ्चालनको तयारी

नागढुङ्गा सुरुङमार्ग : असोजभित्र सञ्चालनको तयारी

spot_img

काठमाडौँ, बुधबार, ११ भाद्र २०८२ । नेपालको पहिलो आधुनिक सुरुङमार्ग, नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सडक विभागअन्तर्गत निर्माणाधीन यो आयोजनाको भौतिक प्रगति हाल ९४.५ प्रतिशत पुगेको छ र असोज महिनाभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका लागि यात्रा सहज, सुरक्षित र द्रुत हुने अपेक्षा गरिएको छ। यसले विशेषगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

सडक विभागले सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतका लागि सेवा प्रदायक परिचालन गर्न खरिद प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त भइसकेको र मन्त्रिपरिषद्बाट खरिद निर्देशिका स्वीकृत भएको विभागले जनाएको छ । हाल नमुना बोलपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा छ भने लागत अनुमान तयारीको काम पनि भइरहेको छ ।

सुरुङमार्गको सञ्चालन र मर्मतका लागि चौबिसै घण्टा (२४/७) सेवा प्रदान गर्नुपर्ने हुन्छ। यसमा आपत्कालीन उद्धार, आगलागी नियन्त्रण, पावर सप्लाई, लाइटिङ, भेन्टिलेसन, आन्तरिक सञ्चार, रिमोट मनिटरिङ, दमकल र अन्य उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित सञ्चालन र मर्मत कार्य समावेश छन् । यी जटिल कार्यहरूका लागि दक्ष जनशक्ति र अन्तर्राष्ट्रियस्तरको अनुभव आवश्यक पर्ने भएकाले विशेषज्ञ सेवा प्रदायक छनोट गरिने भएको छ ।

जापानी परामर्शदाताले तयार गरेको ‘स्पेशिफिकेशन’ र ‘म्यानुअल’ विभागीय प्रमुखबाट स्वीकृत भइसकेको छ । यो म्यानुअलले सुरुङमार्गको सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्नेछ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साउन २६ गतेको निर्णयअनुसार सुरुङमार्ग उपभोग दस्तुर स्वीकृत भएको छ । यो दस्तुर सङ्कलनबाट सुरुङको मर्मत, सञ्चालन र व्यवस्थापनका लागि दिगो स्रोत व्यवस्थापन गरिने छ ।

दस्तुर सङ्कलनका लागि अत्याधुनिक रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआइडी) प्रणाली जडानको कार्य भइरहेको छ । यो प्रणालीमार्फत सवारी साधनको विन्डशिल्डमा टाँसिने बैंक खातासँग जोडिएको आरएफआइडी ट्याग प्रयोग गरी स्वचालित रूपमा टोल भुक्तानी गर्न सकिनेछ। यसले प्रयोगकर्तालाई सहज र समयमै भुक्तानी गर्न सुविधा प्रदान गर्नेछ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img