Thursday, December 11, 2025
11.1 C
Kathmandu
spot_img
Homeराष्ट्रियललितपुर प्रजिअ सुमन घिमिरेको प्रतिबद्धता : सेवा प्रवाह सहजदेखि संस्कृति संरक्षणसम्म

ललितपुर प्रजिअ सुमन घिमिरेको प्रतिबद्धता : सेवा प्रवाह सहजदेखि संस्कृति संरक्षणसम्म

spot_img

ललितपुर, सोमबार, १६ भाद्र २०८२ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुमन घिमिरेले सेवा प्रवाहलाई सहज बनाउँदै सांस्कृतिक सम्पदा संरक्षणमा प्रशासनको सक्रिय भूमिका सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँगको संवादमा प्रमुख जिल्ला अधिकारी घिमिरेले ललितपुरको जात्रा, पर्व र मौलिक परम्परालाई ध्यानमा राख्दै प्रशासनले पुरातात्विकस्थल, पोखरी तथा गुठी जग्गाको संरक्षणमा विशेष ध्यान दिने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तपाईंहरूको सुझावलाई ध्यानमा राखेर यहाँका सम्पदा संरक्षणमा सक्रिय रहनेछौं ।’

उहाँले आफ्नो चार–पाँचवटा प्राथमिकता क्षेत्रको विवरण दिँदै भन्नुभयो, ‘सरकारी कार्यालयको सेवाप्रवाह चुस्त बनाउने, शान्ति सुरक्षा व्यवस्थापन, समुदायसँग संवाद र समन्वय, विकास निर्माणमा सहजीकरण, विपद व्यवस्थापन र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सरल बनाउने विषयलाई प्राथमिकतामा राख्नेछु ।’

यसअघि सञ्चारकर्मीहरूले सूचना प्रवाहमा सुधार, जिल्लाको भौगोलिक विशेषता र सांस्कृतिक संवेदनशीलताप्रति प्रशासनको दृष्टिकोण, शान्तिसुरक्षाका चुनौती आदिको विषयमा धारणा राखेका थिए । सो विषयमा प्रतिक्रिया दिँदै प्रजिअ घिमिरेले सञ्चारकर्मीहरूसँग नियमित संवाद गर्ने र सुझावलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबुका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले प्रशासनले जात्रा, पर्व र संस्कृति संरक्षणमा पहलकदमी र समन्वयको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । महर्जनले सूचना प्रवाह व्यवस्थित गर्न, मातृभाषामा पत्रकारिता गर्ने पत्रकारलाई प्रशासनले समेट्नुपर्ने र समुदायमैत्री प्रशासनको आवश्यकता रहेको विषयमा पनि धारणा राख्नुभयो ।

सम्पदा नेपाल टेलिभिजनका प्रमुख विश्वन्तर शाक्यले गुठी जग्गा संरक्षण, अतिक्रमणमा परेका सम्पदा र जग्गाको सुरक्षामा प्रशासनको सशक्त भूमिका आवश्यक रहेको औंल्याउनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबुका ललितपुर शाखाका सदस्य सनी शाक्यले लागू औषध दुव्र्यसन र शान्तिसुरक्षासम्बन्धी चुनौतीका विषयमा आफ्नो धारणा राख्नुभयो ।

सञ्चारकर्मी हर्कबहादुर श्रेष्ठ र नेपालमण्डल टेलिभिजनका रामराजा बज्राचार्यले अव्यवस्थित बजार, पाकेटमारको समस्यालगायत आमनागरिकले भोगिरहेका समस्याको विषयमा आफ्नो दृष्टिकोण व्यक्त गर्नुभयो ।

गृह मन्त्रालयको निर्णय अनुसार भदौ ५ गते ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएका घिमिरे २५ वर्षअघि निजामती सेवामा प्रवेश गर्नुभएको थियो । यसअघि उहाँ धादिङको प्रमुख जिल्ला अधिकारी रहनुभएको थियो । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे पनि उपस्थित रहनुभएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img