गोरखा, मंगलबार, १७ भाद्र २०८२ । जिल्लाको अजिरकोट गाउँपालिका ३ स्थित भच्चेक आधारभूत अस्पताललाई फ्रान्सेली विद्यार्थीहरुले स्वास्थ्य उपकरण प्रदान गरेका छन् । फ्रान्सको पेरिस सिटी, ग्रेनोबल र मार्सेई विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीले अस्पतालका लागि ४२ लाख रूपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेका हुन् ।

फ्रान्समा आलु चिप्स तथा केक बिक्री, सांगीतिक कार्यक्रम आयोजना र खाजाको पैसासमेत जम्मा गरेर स्वास्थ्य उपकरण सहयोग गरेको उनीहरुले बताएका छन् । फ्रान्सेली विद्यार्थीले शल्यक्रिया कक्षका लागि बेडसहितको उपकरण, एनेस्थेसिया उपकरण, एचडीयु बेड, अनलाइन युपिएसलगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरेको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
ग्रामीण भेगका जनतालाई स्वास्थ्य उपचारको पहुँच पु¥याउने उद्देश्यसहित विद्यार्थीहरूले फ्रान्सस्थित मनोज एसोसिएसन र मुटु फाउण्डेसनको समन्वय उपकरण सहयोग गरेको उनले जानकारी दिए । उनीहरुले पालिकाभित्रका विपन्न तथा सीमान्तकृत २ सय २० जना स्थानीय परिवारहरुको स्वास्थ्य बीमा समेत गराएको छ ।









