काठमाडौँ, बुधबार, १८ भाद्र २०८२ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतिपत्र जारी तथा नविकरण सेवा अनलाइन मार्फत सेवा दिने भएको छ । उद्योगी व्यवसायीहरूले www.neffils.dftqc.gov.np साइटमार्फत सेवा लिन सक्ने छन् । विभागले सञ्चालन गरेको नयाँ प्रणालीको नाम नेपाल फुड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिङ सिस्टम (नेफिल्स) राखिएको विभागले जनाएको छ ।
आज विभागको सभाहलमा आयोजना भएको अभिमुखिकरण तथा तालिम कार्यक्रममा विभागका महानिर्देशक संजीव कुमार कर्णको अध्यक्षतामा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक क्षेत्रका ७० भन्दा बढी खाद्य उद्योगी व्यवसायी, उद्योगी छाता संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यक्रममा उद्योगीहरूलाई नेपाल फुड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिङ सिस्टम प्रणाली प्रयोग गरी सेवा लिने तरिका सम्बन्धी डेमोन्स्ट्रेशन र जानकारीमूलक भिडियो प्रदर्शन गरिएको थियो । सहभागीहरूले प्रणालीद्वारा सेवा छिटो, सहज र पारदर्शी रूपमा प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।
विभागले यस प्रणालीलाई निरन्तर सुधार गर्दै, सेवाग्राहीका सुझाव अनुसार अझ प्रयोगमैत्री, सरल र प्रभावकारी बनाउने र देशभरिका कार्यालयमा विस्तार गर्ने योजना रहेको पनि महानिर्देशक कर्णले जानकारी दिए । हाल काठमाडौँ र हेटौँडाबाट सेवा सञ्चालन भइरहे पनि चाँडै अन्य सबै कार्यालयबाट पनि सेवा सञ्चालनमा आउनेछ । विभागले जनाएको छ ।
साथै, उद्योगीहरूले देशका जुनसुकै स्थानबाट इन्टरनेटमार्फत सेवा लिन सक्ने भएकाले कार्यालय धाईरहनु पर्ने आवश्यकतालाई हटाइ समय, श्रम र खर्चमा बचत हुने विभागले जनाएको छ। प्रणालीले उद्योग अनुगमन, निरीक्षण र फाइल ट्रेसिङमा समेत सहयोग पुर्याउने विभागकाे विश्वास छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २६(ठ) बमोजिम विभागले प्रवाह गर्ने सेवा प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यकता अनुसार विद्युतीय प्रणाली विकास गरी प्रयोगमा ल्याउने व्यवस्था भएकोले सो ऐनको दफा ८ बमोजिम खाद्य उद्योग दर्ताको सिफारिस, दफा ९ बमोजिम खाद्य उद्योगले अनुमतिपत्र तथा दफा १० बमोजिम खाद्य उद्योगको अनुमतिपत्र मान्य अवधि र नवीकरण लगायतको सेवा प्राप्त हुने विभागले जनाएको छ ।









