Wednesday, January 14, 2026
8.1 C
Kathmandu
spot_img
Homeराजनीतिविपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग

विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग

spot_img

काठमाडौँ, मंगलबार, २४ भाद्र २०८२ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विपक्षी दलहरूले सोमबार राजधानीलगायत देशका विभिन्न भागमा भएको घटनामा सरकार नरसंहारमा उत्रेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

जेन–जी आन्दोलनमा सरकारले देखाएको व्यवहार एकदमै अनुचित भएको विपक्षी दलहरूले निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीले राजीनामा गरी वातावरण सहज बनाउन उनीहरूको माग छ ।

‘जनतासँग माओवादी, मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’अन्तर्गत माओवादीका शीर्ष नेताहरू सोमबार गोरखा पुगेका थिए । त्यहीँ उनीहरूले पार्टीको अनौपचारिक बैठक गरेका थिए । उक्त अभियान सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका शीर्ष नेताहरू गोरखा पुगेका थिए । काठमाडौंमा आन्दोलन चर्किएको र केही आन्दोलनकारी मारिएको समाचार सुनेपछि माओवादी नेताहरूले उक्त अभियान स्थगित गरी सोमबार नै काठमाडौं फर्कने तयारी गरेका थिए । अनौपचारिक बैठकमा प्रधानमन्त्रीले राजीनामा गरी वातावरण सहज बनाउन माग गरिएको थियो ।

यस्तै माग रास्वपाले पनि गरेको छ । रास्वपाले प्रधानमन्त्रीले तत्काल राजीनामा गर्न र ताजा जनादेशको घोषणा गर्न माग गरेको छ । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति निकाल्दै सोमबार राजधानीलगायत राजधानीबाहिर भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न र गृहमन्त्रीलगायत दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

‘देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रूर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएपछि नेपालको पछिल्लो पुस्ता जेन–जीद्वारा आयोजित प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्छ,’ विज्ञप्तिमा उनले भनेका छन् । युवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले आमहत्या गरेको भन्दै रास्वपाले निन्दा गरेको छ । विज्ञप्तिमा उनले भनेका छन्, ‘आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् ।’ वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको रास्वपाको भनाइ छ । वर्तमान संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको समाधान निकाल्न असमर्थ भई वैधता गुमाएको भन्दै बुर्लाकोटीले ताजा जनादेशको पनि माग गरेका गरेका छन् ।

यसैबिच, उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन तथा आन्दोलनकारी शक्तिसँग वार्ता र संवाद गरी समस्या समाधान गर्न माग गरेको छ । जसपा नेपालका महासचिव रामकुमार शर्माले सोमबार विज्ञप्ति निकाली लामो समयदेखि देशमा देखिएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारको कारण जनता आक्रोशित रहेको अवस्थामा युवा विद्यार्थीहरूले आन्दोलन सुरु गरेको बताएका छन् । शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमन बन्द गर्न उनले सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘लामो समयदेखि देशमा देखिएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारका कारण आम जनसमुदाय आक्रोशित रहेको परिप्रेक्ष्यमा युवा विद्यार्थीहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गरी सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउन तथा वार्ता र संवादमार्फत समस्याको समाधान गर्न माग गर्छौं ।’

आन्दोलनको क्रममा घाइते भएका युवा विद्यार्थीहरूको नि:शुल्क उपचारको सम्पूर्ण व्यवस्था गर्न जसपा नेपालले सरकारसँग माग गरेको छ । यसैगरी राष्ट्रिय मुक्ति पार्टीले विज्ञप्ति निकाल्दै सोमबार जेन–जी युवाहरूको आन्दोलनमा सरकारले अपनाएको दमकारी नीतिको निन्दा गरेको छ । आन्दोलन भड्किनुमा प्रधानमन्त्री दोषी रहेको उक्त पार्टीको भनाइ छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img