काठमाडौँ, मंगलबार, ३१ भाद्र २०८२ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशभरि क्षतिग्रस्त पार्टी कार्यालयको पुनर्निर्माण थाल्न निर्देशन दिएका छन् ।
‘जेनजी’को प्रदर्शनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि सोमबार (भदौ ३०) उनले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका निम्ति योगदान गर्न पनि कार्यकर्तालाई भनेका छन् ।
आउँदो असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउन समेत उनले निर्देशन दिए । “संविधान दिवस हामी खरानीकै थुप्रोबाट मनाउनेछौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ,” उनले भने ।
उनले वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने बताए । अन्तरिम सरकारको मूल कार्य सुरक्षाको वातावरण बनाउने र समयमा नै निर्वाचन गराउनेमा केन्द्रित हुनेमा उनले आशा व्यक्त गरे ।
“नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौँ,” उनले भने ।









