Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeसंसदपुरानै स्वरूपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुन:निर्माण गरिने

पुरानै स्वरूपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुन:निर्माण गरिने

spot_img

काठमाडौँ, बिहीबार, २ आश्विन २०८२ । जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट ध्वस्त नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) को बुधबार तीन जना मन्त्रीले स्थलगत निरीक्षण गर्नुभएको छ ।

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सो भवन निरीक्षण गर्नुभएको हो निरीक्षण गर्दै अर्थमन्त्री खनालले प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त भवन पुरानै स्वरूपमा निर्माण गरिने बताउनुभयो । त्यसै गरी मन्त्री घिसिङले आगामी पुससम्म सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन निर्माण सम्पन्न हुने र त्यहीँ संसद्को बैठक बस्ने बताउनुभयो । मन्त्रीहरूले पुस मसान्तसम्म संसद् भवनको निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको निरीक्षणमा सहभागी सहरी विकास तथा भवन विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको काम सम्पन्न हुने बताउँदै फागुनको निर्वाचनपछि संसद्को बैठक त्यहीँबाट सञ्चालन हुने बताउनुभयो ।

८६ प्रतिशत काम सम्पन्न

सिंहदरबारको पुतली बगैँचास्थित १७३ रोपनी ८ आना (८८ हजार २७१ वर्ग मिटर) क्षेत्रफलमा ‘इन्टरनेसनल स्टेट अफ द आर्ट’ को मोडलमा सङ्घीय संसद् भवन निर्माण भइरहेको छ । भवन विभागका महानिर्देशक महर्जनले निर्माणाधीन संसद् भवनको ८६ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भवन निर्माणको ठेक्का म्याद पुस १६ गतेसम्म रहेको बताउँदै सो समयभित्र निर्माण सम्पन्न गर्ने जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाको स्थानीय वास्तुकला झल्कने किसिमले डिजाइन गरिएको निर्माणाधीन संसद् भवन परिसरको गुरुयोजना अनुसार परिसर क्षेत्रलाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी मुख्य चार क्षेत्रमा विभाजन गरिएको छ, जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत र हरियाली क्षेत्रले ४५ प्रतिशत जग्गा ओगट्ने छ । बाँकी क्षेत्रमा सडक पूर्वाधार र ‘वाटर बडी’ रहने छन् । यस भवन परिसरको निर्माण ‘हाई–टेक’ आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिको आधारमा भइरहेको छ । कुल पाँच अर्ब तीन करोड (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको यस भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img