काठमाडौँ, आइतबार, ५ आश्विन २०८२ । प्यालेस्टिनी सशस्त्र समूह हमासको सशस्त्र शाखा कसम ब्रिगेडले गाजामा बन्धक बनाइएका ४७ जनाको तस्बिरसहित ‘बिदाइ पोस्टर’ सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा नेपाली विद्यार्थी विपीन जोशी पनि देखिएका छन् ।
इजरायली सेनाले गाजा सहरमा सैन्य कारबाही तीव्र पारेका बेला शनिबार हमासले यो पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा जीवित र मृत सबै बन्धकको तस्वीर राखिएको छ । प्रत्येक तस्बिरमुनि सन् १९८६ मा लेबनानबाट बेपत्ता भएका इजरायली वायुसेनाका पाइलट रोन अरादको नाम लेखिएको छ । अरादको अवस्था आजसम्म अज्ञात रहँदै आएको छ र उनलाई मृत मानिन्छ ।
यस सन्देशमार्फत हमासले इजरायललाई चेतावनी दिँदै सैन्य कारबाही रोकिएन भने बन्धकहरूको भविष्य पनि अरादझैँ रहस्यमय र दुःखद हुने संकेत दिएको बुझिन्छ । पोस्टरमा, “नेतान्याहुको अस्वीकार र जमिरको आत्मसमर्पणकै कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदाको एक बिदाइ तस्बिर” भन्ने उल्लेख छ ।
यसबाट हमासले बन्धकहरूको सम्भावित क्षतिको जिम्मेवारी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र सैन्य प्रमुख इयाल जमिरमाथि थोपर्न खोजेको देखिन्छ ।
उता, इजरायलभित्र भने बन्धकहरूको सुरक्षित रिहाइको माग गर्दै दसौँ हजार नागरिकले देशव्यापी प्रदर्शनको तयारी गरेका छन् । बन्धकका परिवारहरूले निरन्तर लडाइँले आफन्तको जीवनलाई अझ खतरामा पारेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।









