काठमाडौँ, आइतबार, ११ आश्विन २०८२ । तमू (गुरुङ) समुदायको साझा एवं एकमात्र राष्ट्रिय संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले केन्द्रीय कार्यालयमा जेनजी आन्दोलनका नेता सुदन गुरुङलाई परम्परागत गुरुङ संस्कारअनुसार भेटी प्हैरु (रुप, रिपा) लगाएर स्याई स्याई सम्पन्न गरेको छ।

गुरुङ समुदायमा कुनै संकट वा कठिन परिस्थितिबाट पार पाएपछि आगामी दिन राम्रो होस् भन्ने शुभेच्छासहित प्हैरु (रुप, रिपा) लगाएर स्याई स्याई गर्ने परम्परा रहेको छ सोही परम्परा अनुरूप परिषद्ले नेता गुरुङलाई सम्मानस्वरूप प्हैरु लगाई स्याई स्याई गरेको हो ।
कार्यक्रममा उनलाई गुरुङ पोशाक भाङ्ग्रा र फेटा समेत लगाइदिइएको थियो । कार्यक्रममा परिषद्का अध्यक्ष धनमान गुरुङले विश्वभर रहेका गुरुङ समुदायको तर्फबाट स्याइ स्याइ गरिएको स्पष्ट पारे
उनले भने, ‘अहिलेको चुनौतीपूर्ण परिस्थितिमा सबै समस्यासँग लड्न सक्ने साहस मिलोस् भन्ने कामनासहित हामी उहाँलाई स्याइ स्याइ गर्न आएको हौं। सानो मन नबनाई अगाडि बढ्नुस् भन्ने सन्देशका साथ गुरुङ समुदाय जहिल्यै साथमा रहनेछ।’
उनले गुरुङ समुदायबाट आवश्यक सल्लाह, सुझाव तथा सहयोग प्रदान गर्न परिषद् सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा जेनजी नेता गुरुङले गुरुङ समुदायबाट गरिएको सम्मानप्रति आभार व्यक्त गरे। उनले भने, ‘म आफूलाई सम्झेर यस्तो सम्मान गर्नु भएकोमा धन्य छु। नयाँ नेपाल निर्माणका लागि म सबैसँग सहकार्य गर्न चाहन्छु।’
कार्यक्रममा परिषद्का उपाध्यक्ष दिल गुरुङ, महासचिव राजु गुरुङलगायतका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।









