Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeस्वास्थ्यदेशभर डेंगु संक्रमण तीव्र

देशभर डेंगु संक्रमण तीव्र

काठमाडौँ, मंगलबार, २८ आश्विन २०८२ । जाडो सुरु भइसक्दासमेत देशका विभिन्न भागमा डेंगु संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २०२५ को सुरुदेखि अहिलेसम्म डेंगु संक्रमणका कारण चार जनाको मृत्यु भइसकेको छ भने पाँच हजार ८७४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो सातामा मात्रै गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । प्रदेशगत विवरणअनुसार पछिल्लो साताभित्र बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोसीमा १६ र मधेसमा ६ जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य विज्ञहरूले मनसुनको अन्त्यसँगै तापक्रम वृद्धि र वर्षा रोकिएपछि लामखुट्टे प्रजनन बढ्ने भएकाले संक्रमण अझ तीव्र हुनसक्ने चेतावनी दिएका छन् । नेपालमा डेंगु पहिलोपटक सन् २००४ मा भेटिएको हो । सो वर्ष चितवनमा आएका एक विदेशी नागरिकमा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । त्यसयता यो रोग देशका विभिन्न भागमा विस्तार हुँदै गएको छ ।

पछिल्ला पाँच वर्षमा डेंगुको संक्रमण दर अत्यधिक बढेको पाइएको छ । प्रारम्भिक चरणमा यो रोग तराईका जिल्लाहरूमा मात्र सीमित रहेको भए पनि सन् २०१८ पछि पहाडी क्षेत्रसम्म फैलिएको स्वास्थ्य विज्ञहरूले बताएका छन् । सन् २०१९ मा पहाडी जिल्लाहरूमा समेत ठूलो प्रकोपका रूपमा फैलिएको डेंगुले ४३ जिल्लामा फैलिँदा १२ जनाको मृत्यु भएको थियो । त्यसपछिका वर्षहरूमा यो संख्या झन् बढ्दै गएको देखिन्छ ।

२०२० मा धरानबाट फैलिएको डेंगुले देशभर १८ हजार मानिसलाई संक्रमित बनाएको थियो । त्यस्तै, २०२२ मा सबै ७७ जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित र ८८ जनाको मृत्यु भएको थियो । २०२३ मा कोसी प्रदेशमा व्यापक फैलावट हुँदा ५२ हजारभन्दा बढी संक्रमित र २० जनाको मृत्यु भएको थियो । २०२४ मा देशभर ४१ हजार ८६५ संक्रमित र १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

झापा, चितवन र रूपन्देही उच्च जोखिममा
हालका तथ्यांकअनुसार झापा, चितवन, रूपन्देही, महोत्तरी, कास्की र सुनसरी उच्च जोखिमका जिल्लाहरूका रूपमा पहिचान भएका छन् । ती क्षेत्रमा लामखुट्टेको सक्रियता र जनसंख्या घनत्व बढी भएकाले संक्रमण तीव्र रूपमा फैलिएको बताइन्छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक सरसफाइमा ध्यान दिन, थाल, टायर, गाग्री, फूलदानी जस्ता स्थानमा पानी नजम्न दिने, र मच्छर काट्न नदिन सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । साथै, कुनै पनि ज्वरो वा शरीर दुख्ने लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ ।

डेंगु नियन्त्रणका प्रयास
स्वास्थ्य मन्त्रालयले हाल देशभर डेंगु नियन्त्रण र रोकथाम अभियान सञ्चालन गरेको छ । स्थानीय तहसँग सहकार्य गर्दै लामखुट्टे नष्ट गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र संक्रमित क्षेत्रहरूमा फॉगिङ गर्ने कार्य भइरहेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार, ‘डेंगु नियन्त्रणका लागि स्थानीय स्तरमा सरसफाइ, जनचेतना र स्वास्थ्य संस्थाको सजगता अत्यावश्यक छ । मच्छरको प्रजनन स्थल नियन्त्रण नगरेसम्म संक्रमण घट्दैन ।’

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img