Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeमनोरञ्जन‘नेपथ्य’ कन्सर्ट : व्यावसायिकता र सामाजिक दायित्व दुवैलाई प्राथमिकता

‘नेपथ्य’ कन्सर्ट : व्यावसायिकता र सामाजिक दायित्व दुवैलाई प्राथमिकता

पोखरा, मंगलबार, १८ कात्तिक २०८२ । नेपाली लोकरक ब्याण्ड नेपथ्यले यही शुक्रबार पोखरास्थित रंगशालामा विशेष कन्सर्ट गर्दैछ । तीन वर्षपछि पुनः आफ्ना गृह-श्रोतासामु नेपथ्य प्रस्तुत हुन लागेको हो । यसपालि ब्याण्डले क्रिकेट खेलको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नेपथ्य फर स्पोट्र्स’ मूल नाराका साथ आफ्नो प्रस्तुति दिन लागेको छ । कन्सर्टका माध्यमबाट ब्याण्डले नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गर्ने कार्यक्रमलाई सहयोग गर्न लागेको हो । ब्याण्डले संगीतप्रेमीहरूलाई खेलकुदको माध्यमसँग जोड्ने प्रयासलाई यो कार्यक्रमले सघाउने विश्वास व्यक्त गरेको छ ।

टिमका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार ‘पोखरा एभेन्जर्स र नेपथ्यप्रति नगरवासीले देखाएको माया र उत्साहले हाम्रो हौसला बढेको छ,’ उहाँले भन्नुभयो, ‘यो क्रिकेट र संगीत दुवैका लागि गर्वको विषय हो ।’ ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित हुने कन्सर्टका लागि टिमले सुरुका एक हजार समर्थकलाई ९९९ रुपैयाँमै जर्सी दिने घोषणा गरेको थियो । बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मै ती सबै जर्सी बिक्री भइसकेको पोखरा एभेन्जर्सले जनाएको छ । ‘१३ घण्टामै एक हजार जर्सी बिक्री हुनु पोखराका क्रिकेट समर्थक र संगीतप्रेमी दुवैका लागि गर्वको विषय हो । क्रिकेटको विकासमा लिजेन्ड्री ब्याण्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं,’ टिमका अध्यक्ष त्रिपाठीले भन्नुभयो ।
कन्सर्टमा प्रवेशका लागि टिकट पर्ने छैन । पोखरा एभेन्जर्सको जर्सी खरिद गरेका समर्थकले मात्र कन्सर्टमा सहभागी हुन पाउनेछन् । जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने एभेन्जर्सले जनाएको छ । मंसिर १ गतेबाट सुरु हुने एनपिएलको दोस्रो संस्करणको यतिखेर ट्रफी टुर भइरहेको छ ।

मुख्य गायक अमृत गुरुङले यसपटकको प्रस्तुति समाजमा सकारात्मकता फैलाउने एउटा अवसर भएको बताउनुभयो । ‘देशमा संकट र जनतामा उकुसमुकुस छाएका बेला खेलकर्मी र कलाकर्मी मिलेर सन्देश दिन पाउनु ठूलो उपलब्धि हो,’ उहाँले भन्नुभयो, ‘पोखरेली दर्शक र खेलाडीप्रति हार्दिक आभार व्यक्त गर्छु ।’

कार्यक्रम व्यवस्थापन गर्दै आएको नेपालयका टोली नेता किरणकृष्ण श्रेष्ठका अनुसार कन्सर्टमा व्यावसायिकता र सामाजिक दायित्व दुवैलाई प्राथमिकता दिइएको छ । ‘ब्याण्डले प्रयोग गर्दै आएको उच्चतम प्राविधिक तथा व्यवस्थापकीय स्तरलाई निरन्तरता दिनेछौं,’ श्रेष्ठले बताउनुभयो ।

कन्सर्टमा अमृत गुरुङलाई ड्रमसेटमा धु्रव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनुहुनेछ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img