गोरखा, मंगलबार, २५ कात्तिक २०८२ । नेपाली काँग्रेस गोरखाले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिका अनुसार नै पार्टी केन्द्रीय महाधिवेशन गर्नुपर्ने निर्णय गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानले विधान अनुसार महाधिवेशन हुन नसके ५४ प्रतिसत महाधिवेशन प्रतिनिधिले मागगरे बमोजिम विशेष महाधिवेशन हुनुपर्ने निर्णय जिल्ला समितिले गरेको जानकारी दिनुभयो ।
‘‘महामन्त्रीले माग गरेबमोजिम महाधिवेशन हुँदैन भने ५४ प्रतिसत महाधिवेशन प्रतिनिधिहरुले माग गरेको विशेष महाधिबेशन हुनुपर्छ भन्ने निर्णय जिल्ला समितिले गरेको छ, उहाँले भन्नुभयो, ‘‘हामी सोही अनुसार केन्द्रीय समितिलाई अनुरोध गछौँ ।’’ काग्रेसको विधानले जिल्ला समितिसहित सवै तहको कार्यकाल ४ बर्षका लागि तोेकेकाले आउदो मंसिरमा सवै तहको कार्यकाल सकिने भएकाले पुसमै नियमित अधिबेशन हुनुपर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।
नेपाली काँग्रेस गोरखाका ५१ जना महाधिवेशन प्रतिनिधि मध्ये ४२ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर समेत गरेका थिए । बैठकले बिषम परिस्थितीमा देशले निकास खोजीरहेका बेला जिल्ला भित्रका एघारवटै पालिकामा पार्टीले भेला गरेर नागरिकहरु संवाद गर्ने निर्णयसमेत गरेको सभापति न्यौपानेले बताउनुभयो ।
वर्तमान अवस्थामा देशलाई निकास दिनका लागि पनि तत्काल पार्टीको महाधिवशेन जरुरी रहेको उहाँको भनाई छ । त्यस्तै बैठकले किसानले भित्र्याउने तयारी गरेका धानबालीमा यस पटक बर्षाले ठूलो क्षति पु¥याएकाले स्थानीय सरकार, प्रदेश सरकारलगायतसंग पिडित किसानलाई विशेष राहातको व्यवस्था गर्न ध्यानकर्षण गर्ने निर्णय गरेको छ ।
पार्टीको भातृसंगठनलाई थप चलायमान बनाउन तथा विकास निर्माणका योजनाहरुलाई समयमा निर्माण सम्पन्न गर्ने गरि दवाव दिने निर्णय बैठकले गरेको सभापति न्यौपानले बताउनुभयो । सभापति न्यौपानले बर्तमान सरकार संविधान अनुसार बन्यो या बनेन भन्दापनि आन्दोलनबाट बनेको सरकार भएकाले स्विकार गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
‘‘यो सरकार आन्दोलनबाट बनेको सरकार भएकाले हामीले स्विकार गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘‘हामीले विगतमा गरेका आन्दोलनहरुबाट पनि कतिपय कुुराहरु भत्कायौँ, नयाँ ढंगले अगाडी बढ्यौँ त्यसैले अहिले जेन्जीको आन्दोलनपछि जुन सरकार बनेको छ र फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ, उक्त निर्वाचनमा सहभागी हुुनुपनि पर्छ र काँग्रेस गोरखा निस्पक्ष निर्वाचनको पक्षमा छ ।’’









