काठमाडौँ, बुधबार, ६ साउन २०८३ । दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ । इपिएस कोरिया शाखाले मंगलबार सूचना जारी गर्दै भाषा परीक्षाको आवेदन खुला भएको जानकारी गराएको हो ।
उत्पादनमूलक क्षेत्रका लागि पाँच हजार जना, कृषि तथा पशुपालन क्षेत्रका लागि दुर्ई हजार जना, सेवा क्षेत्रका लागि एक सय जना र वन क्षेत्रका लागि एक सय जना गरी जम्मा सात हजार दुर्ई सय जनाका लागि आवेदन खुलेको हो । सूचनाअनुसार एक व्यक्तिले एक क्षेत्रका लागिमात्र दरखास्त फाराम भर्न पाउनेछन् । प्रथम चरणको परीक्षा उत्तीर्णपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न पाइने छैन ।
प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मूल्यांकनमा समेत सहभागी भएर उत्तीर्ण भएपछि मात्रै छनोटमा पर्न सक्ने बताइएको छ । आवेदन फाराम भर्न १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ भने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको हुनुहुँदैन । पहिले नै कोरियामा गैरकानुनी रूपमा बसी फिर्ता पठाएको पनि हुनुहुँदैन । पहिले नै कोरिया गइसकेकोमा ई-९ र ई-१० भिसामा पाँच वर्षभन्दा बढी बसेको हुनुहुँदैन ।
साथै कलर ब्लाइन्डनेस र कलर विकनेस भएकाहरू पनि आवेदनका लागि अयोग्य ठरिनेछन् । योग्यता पुगेकाले २७ जुलाईदेखि २ अगस्टसम्म इपिएस कोरिया शाखाको पोर्टलमार्फत्् नै आवेदन दिन सकिनेछ । तर, कोरियन भाषा परीक्षामा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारी सुनिश्चित नहुने पनि सूचनामा उल्लेख छ । दक्षिण कोरियामा अध्ययन, रोजगारी र व्यवसायलगायत विभिन्न भिसामा बस्ने नेपालीहरूको संख्या एक लाखभन्दा बढी रहेको बताइन्छ ।
केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा इपिएस सेन्टरका प्रतिनिधि किमजोङ सामले सन् २०२२, २०२३ र २०२५ मा कोरियाले नेपालबाट सबैभन्दा धेरै श्रमिक लगेको बताउनुभएको थियो । कोरियाले इपिएस प्रणालीमार्फत् नेपालसहित विभिन्न १७ वटा मुलुकबाट श्रमिक लैजाने गरेको छ । कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) का अनुसार कोरियाले २०२२ मा इपिएस प्रणालीमार्फत् कुल एक लाख एक हजार पाँच सय १३ आप्रवासी श्रमिक भित्र्याएको थियो भने उक्त वर्ष नेपालबाट १४ हजार चार सय ९५ जना गएका थिए ।
सबैभन्दा धेरै श्रमिक पठाउने स्रोत मुलुक नेपाल बनेको थियो । २०२३ मा कुल एक लाख १८ हजार सात सय २८ जना आप्रवासी श्रमिक कोरिया प्रवेश गरेकोमा नेपालबाट १९ हजार सात सय ३८ जना कोरिया गएका थिए । २०२५ मा फेरि सबैभन्दा धेरै कामदार पठाउने मुलुक नेपाल बनेको थियो । २०२५ मा कुल ७२ हजार सात सय ३४ जना श्रमिक भित्रिएकोमा नेपालबाट सबैभन्दा धेरै ११ हजार दुर्ई सय ४० जना गएका थिए ।
इपिएस शाखाका अनुसार कोरियामा हालसम्म एक लाख २५ हजार २१ जना इपिएसमार्फत् पुगिसकेका छन् । मलेसिया खाडीलगायत गन्तव्य मुलुकहरूको तुलनामा कमाइ राम्रो भएका कारण पनि युवाहरूको आकर्षण बढ्दो छ । इपिएसमार्फत् गएका श्रमिकको न्यूनतम तलब हाल प्रतिघण्टा १० हजार तीन सय २० वन तोकिएको छ । आगामी सन् २०२७ जनवरीदेखि न्यूनतम तलब बढ्ने बताइएको छ । नेपालबाट इपिएस प्रणालीअन्तर्गत कोरियाले सन् २००८ देखि उत्पादनमूलक तथा कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजान थालेकोमा पछिल्लो समय अन्य क्षेत्रमा पनि नेपालीहरू जान थालेका छन् ।









