Tuesday, September 15, 2026
20.1 C
Kathmandu
spot_img
Homeअर्थ व्यवसायकाठमाडौँमा ग्यास अभाव टार्न उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

काठमाडौँमा ग्यास अभाव टार्न उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

spot_img

चितवन, शनिबार, २० भाद्र २०८३ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास (एलपीजी) को सम्भावित अभाव टार्न उद्योगीहरूले वैकल्पिक आपूर्ति व्यवस्था थालेका छन् ।

नेपाल आयल निगमले उपत्यकाबाहिर रहेका उद्योगबाट सिलिन्डर भरेर काठमाडौँ ल्याउन अनुमति दिएपछि ग्यास उद्योगीहरूले विभिन्न स्थानका प्लान्टबाट ग्यास भरेर उपत्यका ल्याउन थालेका हुन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरूले ढुवानी सहज बनाउन मकवानपुरका ट्रक व्यवसायीसँग समेत छलफल गरिरहेका छन् । सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिरका उद्योगमा खाली सिलिन्डर पर्याप्त नभएकाले काठमाडौँबाटै खाली सिलिन्डर ट्रकमार्फत बाहिर लगेर ग्यास भरेपछि पुनः उपत्यका ल्याउने व्यवस्था मिलाइएको छ ।

नेपाल ग्यासले चितवनस्थित नेपाल ग्यास गण्डकीको प्लान्टमा आफ्ना सिलिन्डर भरेर काठमाडौँ पठाउँदै आएको छ । उपत्यकामा सामान्य अवस्थामा दैनिक करिब ११ हजार सिलिन्डर बिक्री गर्दै आएको उक्त उद्योगले केही दिनभित्रै दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौँ ल्याउने तयारी गरेको छ ।

रातिको समयमा कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक लाग्ने भएकाले खाली सिलिन्डर बोकेका ट्रकको आवतजावतमा केही ढिलाइ भइरहेको सङ्घका सदस्य विमल कालाखेतीले बताउनुभएको छ ।

हाल विभिन्न ग्यास कम्पनीले परासी, हेटौँडा, गैँडाकोटलगायतका स्थानमा रहेका प्लान्टबाट ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन् । उपत्यका र आसपासका क्षेत्रमा हाल १६ वटा ग्यास उद्योग सञ्चालनमा रहेका छन् ।

सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ। तर सडक अवरुद्ध भएपछि उपभोक्ताले ग्यासको अभाव हुने डरमा बढी सिलिन्डर खरिद गर्न खोज्दा माग दैनिक एक लाख सिलिन्डरसम्म पुग्न सक्ने उहाँले बताउनुभएको छ ।

उद्योगीहरूले संगठित रूपमा वैकल्पिक आपूर्ति व्यवस्था मिलाइरहेकाले केही दिनभित्रै ग्यासको आपूर्ति सहज हुने उहाँको भनाइ छ । उहाँले उपभोक्तालाई आवश्यक मात्रामा मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौज्दात नराख्न आग्रह गर्नुभएको छ ।

नेपालका ५८ वटा ग्यास उद्योगबाट उत्पादित ग्यासमध्ये करिब ४० प्रतिशत उपत्यकामा खपत हुने गरेको छ। यसैबीच, गत महिना भारतबाट हालसम्मकै उच्च परिमाणमा ६० हजार २०० मेट्रिकटन एलपीजी ग्यास आयात भएकाले बजारमा ग्यासको वास्तविक अभाव नहुने सङ्घले जनाएको छ ।

साल्ट ट्रेडिङले पनि वैकल्पिक व्यवस्था मिलायो

सडक अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि आफ्ना ‘एसटीसी सिलिन्डर’ मा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था थालेको छ।

धादिङको जुगेखोलास्थित कर्पोरेसनको एलपीजी प्लान्टतर्फ जाने सडक अवरुद्ध भएपछि निजी क्षेत्रका बाबा र मनोज ग्यासका प्लान्टमा एसटीसी सिलिन्डर भरेर काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ ।

नेपाल आयल निगमले कुल ३ हजार २५ वटा ग्यास बुलेटको कोटामध्ये साल्ट ट्रेडिङलाई २ प्रतिशत अर्थात् ५३ वटा बुलेटको कोटा उपलब्ध गराउँदै आएको छ। कर्पोरेसनले हाल कुपन प्रणालीमार्फत ग्यास बिक्री तथा वितरण गर्दै आएको छ ।

यसरी मुख्य सडक अवरुद्ध भए पनि उपत्यकामा ग्यासको आपूर्ति नियमित राख्न उद्योगी तथा सम्बन्धित निकायले वैकल्पिक मार्ग र प्लान्टमार्फत आपूर्ति व्यवस्था मिलाउन थालेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img