गोरखा, शनिबार, २० भाद्र २०८३ । आर्थिक वर्ष २०८२÷८३ मा भिमसेनथापा गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड MSS मूल्याङ्कनमा बोर्लाङ स्वास्थ्य चौकी लगातार दोस्रो वर्ष उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ ।
गाउँपालिकाले गरेको वार्षिक मूल्याङ्कनमा बोर्लाङ स्वास्थ्य चौकीले आवश्यक सेवा प्रवाह, नियमित स्वास्थ्य कार्यक्रम तथा सेवा व्यवस्थापनमा उत्कृष्ट नतिजा हासिल गर्दै पहिलो स्थान कायम राख्न सफल भएको बोर्लाङ स्वास्थ्य चौकीका सुचना अधिकारी सचिना शाक्यले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा पनि प्रथम बनेको उक्त स्वास्थ्य चौकीले यस वर्ष पनि आफ्नो उपलब्धिलाई निरन्तरता दिएको छ । उहाँका अनुसार स्वास्थ्य चौकीबाट २४ सै घण्टा प्रसूति सेवा, निःशुल्क प्रयोगशाला सेवा तथा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।
त्यसैगरी ज्येष्ठ नागरिक तथा अशक्त नागरिकका लागि घरदैलो स्वास्थ्य सेवा कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको सुचना अधिकारी शाक्यले बताउनुभयो ।
लगातार दोस्रो पटक उत्कृष्ट बन्न सफल हुनु स्वास्थ्य सेवाको गुणस्तरलाई अझ प्रभावकारी, पहुँचयोग्य र सेवामुखी बनाउने प्रेरणाका मिलेको शाक्यले बताउनुभयो ।









