Tuesday, September 15, 2026
20.1 C
Kathmandu
spot_img
Homeसंस्कृतिसांस्कृतिक तथा धार्मिक महान् पर्व हरितालिका तीज

सांस्कृतिक तथा धार्मिक महान् पर्व हरितालिका तीज

spot_img

काठमाडौँ, सोमबार, २९ भाद्र २०८३ । हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान् पर्व हरितालिका तीज आज (सोमबार) देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान् शिवको पूजा-आराधना गर्ने, नाचगान गर्ने तथा दिदीबहिनी र आफन्तसँग सुख-दुःख साटासाट गर्ने परम्परा छ ।

तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा लिइन्छ । विशेषगरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने, सामूहिक रूपमा गीत गाउने, नाच्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले यस पर्वको सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोलप्रसाद अर्याललगायत विभिन्न दलका नेताहरूले शुभकामना व्यक्त गर्नुभयो ।

तीज पर्व भाद्र शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइए पनि भाद्र शुक्ल तृतीयालाई मुख्य तीजका रूपमा लिइन्छ । यस दिन व्रतालु महिलाहरूले बिहानैदेखि निराहार व्रत बसेर साँझ भगवान् शिवको पूजा-आराधना गर्ने गर्छन् ।

यसवर्ष तीज पर्व आइतबारदेखि सुरु भएको हो । पर्वको पहिलो दिन व्रतालु तथा परिवारका सदस्यहरूले दर खाए । दोस्रो दिन आज (सोमबार) तीजको मुख्य दिनका रूपमा निराहार व्रत बसेर भगवान् शिवको पूजा-आराधना गरिँदै छ । आजै गणेश चौथी मनाइनेछ भने मंगलबार अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व औपचारिक रूपमा समापन हुनेछ ।

यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ । हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ¥याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो लाम जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं. ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ¥याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ ।

यसैगरी तेस्रो लाम सिनामङ्गल, एयरपोर्टतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको ¥याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रबन्ध मिलाइएको उहाँले सुनाउनुभयो ।

पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको छ ।

बिहानको समयमा भक्तजनले सहज रुपमा लाममा बसेर आराध्यदे भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन् । बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था छ । बिहानी पख भदौरे झरीका वावजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ ।

तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ । दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ ।

हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लागेको छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img