गोरखा, मंगलबार, २७ असोज २०८३ । गत आइतबार बुढीगण्डकीमा आएको बाढीपछि अवरुद्ध बनेको लार्के सडकअन्तर्गत आरुघाट गाउँपालिका–३ को सोति खण्डमा मंगलबारबाट सवारी साधन चल्न सुरु भएको छ ।
छेपारे भिर र सोतिको सडकमा बुढीगण्डकीले थुपारेको लेदो हटाएपछि सवारी साधन चल्न थालेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताउनु भयो ।
छेपारे भिरबाट सोतिसम्म ३ ठाउँमा बुढीगण्डकीले लेदो थुपारेको थियो । ‘हिजो र आज ४ वटा मेसिन लगाएर सडक सफा गर्यौं, आजबाट सवारी साधन चल्न सुरु भएको छ,’ उनले भने । सोति खण्डको लेदो हटाएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म सवारी साधन पुगेका छन् ।
धार्चेको खोर्लाबेँसीबाट भने सवारी साधन कट्न सकेको छैन । तातोपानी र खोर्लाबेँसीबीचमा १०० सडक बुढीगण्डकीले कटान गर्दा चुमनुब्री गाउँपालिका सडक सम्पर्कबाट बिच्छेद बनेको छ ।









