गोरखा, बुधबार, १ आश्विन २०८२ । गोरखाको ६ वटा स्थानीय तहमा करिब २०० जना डेंगी र स्क्रबटाईफसका संक्रमित फेला परेका छन् ।
जिल्लाको आरुघाट, अजिरकोट, भिमसेन थापा र शहिद लखन तथा गोरखा र पालुङटार नगरपालिकामा गरी कुल १९७ जना संक्रमित देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका ल्याब टेक्निसियन निरिक्षक नारायण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय जिल्लाका ति तहहरुमा डेंगीभन्दा बढी स्क्रबटाईफसका बिरामीहरु धेरै देखा परेको बताउनु भयो । संक्रमित मध्ये १३९ जना स्क्रबटाईफसका र ५८ जना डेंगीका बिरामीहरु फेला परेको निरिक्षक अर्यालले जानकारी दिनुभयो ।
कार्यालयको भाद्र ३० गतेसम्मको तथ्यांक अनुसार आरुघाट गाउँपालिकामा १५–१५ जना डेंगी र स्क्रबटाईफसका बिरामी फेला परेको छ भने भिमसेन थापा गाउँपालिकामा १३ जना डेंगी र ३४ जना स्क्रबटाईफसका बिरामीहरु फेला परेका छन् ।
त्यस्तैगरी, पालुङटार नगरपालिकामा ८ जनामा डेंगी र ३० जनामा स्क्रबटाईफस, शहिद लखन गाउँपालिकामा ४ जनामा डेंगी र अजिरकोट गाउँपालिकामा ३ जनालाई डेंगी र १ जनालाई स्क्रबटाईफस भएको छ ।
सबैभन्दा धेरै भने गोरखा नगरपालिकामा देखिएको छ । प्रदेश अस्पताल गोरखाका मेडिकल रेकर्डर तिलक आचार्यका अनुसार अस्पताल भित्रै ल्याबमा परिक्षण गरिएका मध्य १५ जनामा डेंगी र ५९ जनामा स्क्रबटाईफसको संक्रमण देखिएको छ ।
जिल्लामा संक्रमण देखिएको यो संख्या साउन महिना यतादेखीको हो । गएको बर्ष अत्याधिक मात्रमा डेंगीका संक्रमित फेला परेकोमा यस पटक भने स्क्रबटाईफसका संक्रमित फेला परेको जनस्वास्थ्य कार्यालयका निरिक्षक अर्यालले बताउनु भयो ।









