काठमाडौँ, शनिवार, ९ साउन २०८३ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा एपमार्फत नै बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमा रहेको क्यूआर कोड स्क्यान गरी बैंकको वेबसाइटमार्फत व्यक्तिगत बचत खाता खोल्न सक्नेछन् ।
नेपालमा नै पहिलोपटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ । १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाइ नागरिक एपमा आवद्ध भएका नागरिकले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन् ।
खाता खोल्नका लागि बैंकले नागरिक एपमा आवद्ध व्यक्तिको पूर्व स्वीकृति लिएर आवश्यक व्यक्तिगत विवरण सुरक्षित रूपमा प्राप्त गर्नेछ । यसबाट विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा समेत सुनिश्चित हुनेछ ।
नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि ग्राहकले नजिकैको शाखा कार्यालयमा गएर वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३ सय ४२ शाखा कार्यालय, ३ सय ६८ एटिएम, १ सय ४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
साथै, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ । बैंकले विभिन्न समयमा ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा ‘बेस्ट बैंक नेपाल’ लगायतका बहुप्रतिष्ठित पुरस्कारहरू प्राप्त गरिसकेको छ ।









