चितवन, आइतबार, १४ भाद्र २०८३ । बाढीप्रभावित चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
भाद्र १० गते बिहान बाढी आएलगत्तैदेखि श्री नयाँ गोरख गणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्य सुरु गरेको गणपति प्रमुख सेनानी राजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोज तथा उद्धारका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गोलाघाट, दिव्यपुरी र गजिपुरलगायत विभिन्न स्थानबाट हालसम्म ७० वटा शव फेला पारिएको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाइएको बानियाँले बताउनुभयो ।
बाढीका कारण नारायणी नदीमा बगाएर ल्याइएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदीका विभिन्न क्षेत्रमा निरन्तर निगरानी तथा खोजी गरिरहेको छ ।
नारायणी नदीमा पानीको बहाव, नदीको फैलावट तथा आसपासका क्षेत्रको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ ।









