Sunday, March 16, 2025
14.1 C
Kathmandu
Homeअर्थ व्यवसायनेपाल-चीनबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड

नेपाल-चीनबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड

काठमाडौँ, बिहिबार, २० मङ्सिर २०८१ । नेपाल-चीन बिजनेस समिटमा विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धतासहित नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका लागि सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्तरूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको महासंघले जनाएको छ । द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो ।

उहाँले नेपालमा धेरै क्षेत्र अभैm पनि लगानीका लागि आकर्षक रहेको भन्दै लगानीका लागि आग्रह गर्नुभयो । दुई देशबीचको परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको भन्दै महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा प्रशंसासमेत गर्नुभयो ।

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उहाँले बताउनुभयो । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले आवश्यकता आंैल्याउनुभयो । सिसिपिआइटीको मुख्यालय बेइजिङमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले दुई देशबीचको सम्बन्ध निकै पुरानो रहेको र आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो ।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको उल्लेख गर्दै उहाँले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताउनुभयो । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने पनि उहाँले बताउनुभयो ।

चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो । उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । त्यसैगरी उपमन्त्री लिंगले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

महासंघका अनुसार यो समिटको दोस्रो संस्करण हो । महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेका थिए । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्ष अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठवटा कानुन संशोधन गरेको छ, त्यसैगरी द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको छ । पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको छ ।

उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको छ, यसले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको छ ।’ अध्यक्ष ढकालले सीमा क्षेत्रको पूर्वाधारलगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केबलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको बताउनुभयो ।

नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य रहेकाले नेपाललाई प्राथमिकतामा राख्न पनि चीन सरकारलाई आग्रह गर्नुभयो । लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एकजना सदस्यका नाताले मुलुकभित्र व्यावसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले जनाउनुभयो । उहाँले महासंघमा रहेको एफडिआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिबद्धता पनि जनाउनुभयो । चीनले यही डिसेम्बर एकदेखि आफ्नो कूटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरूलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गर्नुभयो ।

सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको भन्दै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताउनुभयो । महासंघ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी गराउनुभयो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताउनुभयो ।

महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उहाँको भनाइ थियो । समिटमा एक सय २० जना चिनियाँ व्यवसायीको सहभागिता रहेको थियो । नेपालतर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित करिब ५० जना उद्यमी व्यवसायीको समिटमा सहभागिता थियो । समिटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको