काठमाडौँ, आइतबार, २४ चैत्र २०८१ । अब नेपालबाट भारतमा हुने निर्यातजन्य खाद्यवस्तुको गुणस्तर प्रमाणीकरण नेपालमै हुने भएको छ । नेपालबाट भारतमा निर्यात हुने विभिन्न १० खाद्य समूहअन्तर्गत पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले पारस्परिक मान्यता (मिच्युअल रिक्गनाइज्ड) दिने मान्यता दिएको छ ।
भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरण अर्थात् फुड सेफ्टी एण्ड स्ट्याण्डर्स अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) तथा परीक्षण र क्यालिब्रेसन प्रयोगशालाहरूका लागि राष्ट्रिय मान्यता बोर्ड अर्थात् नेसनल एक्रिडिएटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याबोटोरिज (एनएबिएल) ले नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकोे राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाको खाद्य समूहको परीक्षणलाई मान्यता प्रदान गरेको हो ।
अब नेपालको खाद्य प्रविधि तथा गुुण नियन्त्रण विभागअन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले १० खाद्य पदार्थ समूहअन्तर्गत पर्ने फ्याट्स एण्ड आयल, फ्रुट्स एण्ड भेजिटेबल, सिरियल्स प्रोडक्ट्स अर्थात् चामल, गहुँ, मकै, कोदो, टी एण्ड कफी, मिल्क एण्ड डेरी प्रोडक्ट्स, हनि एण्ड स्वीटनर्स, मिट प्रोडक्ट, स्पाइसेज, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लिमेन्ट्सको गुणस्तरसम्बन्धी विश्लेषण गर्न सक्नेछ । उक्त प्रयोगशालाले उल्लेखित वस्तुको गुणस्तर परीक्षण गरेर उपलब्ध गराउने प्रमाणपत्रका आधारमा नेपाली उद्यमीले सोझै भारतमा निर्यात गर्न सक्नेछन् ।
यसअघि नेपाली उद्यमीले चिया, कफी, अदुवा, अलैंची, मह, जुुस, दुग्धजन्य पदार्थ, बोसो तथा तेल, तरकारी तथा फल, खाद्यान्न उत्पादन, पानीलगायत भारत निर्यात गर्न भारतको कोलकात्ता, बैंग्लोर, नागपुर, मुम्बई, भोपाल, दिल्ली पुगेर परीक्षण गर्नुपर्ने बाध्यता थियो भने परीक्षण गराउन भारत जाँदा लामो समयसँगै खर्च पनि बढी लाग्ने गरेको थियो ।
भारतले मान्यता दिएसँगै १० प्रकारका खाद्य समूहको वस्तु निर्यात गर्न परीक्षणका लागि भारत जानुपर्ने बाध्यता अन्त्य भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभएको छ । उक्त सुविधासँगै भारतमा कृषि उपज निर्यात गर्दै आएका निर्यातकर्ताले खाद्य विभागको यो प्रयोगशालाबाट गुणस्तर प्रमाणीकरण गराएको प्रमाणपत्र, निर्यातसम्बन्धी प्रमाणपत्र र वस्तुको ब्याच नम्बर प्रमाणपत्र लिएर निर्यात गर्न सहज हुने उहाँको भनाइ छ । कर्णका अनुसार भारतले नेपालको प्रयोगशालालाई छ सय ३० प्यारामिटरसम्मको गुणस्तर विश्लेषण परीक्षण प्रमाणपत्रलाई मान्यता प्रदान गरेको हो । यसअघि दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्नेमात्रै क्षमता थियो । भारतको एफएसएसएआईको निर्देशनअनुसार विभागले छ सय ३० प्यारामिटरसम्मको गुणस्तर परीक्षण गर्न सक्ने क्षमता विस्तार गरेको छ ।
नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरणबीच पारस्परिक मान्यता सम्झौता सन् २०१९ मा भए पनि कोरोनाका कारण थप प्रक्रिया अघि बढ्न सकेको थिएन ।
महानिर्देशक कर्णका अनुसार गत पुसमा बसेको नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) को बैठकले १५ बुँदे सहमति गरेको बुँदा नम्बर १२ अन्तर्गत नेपालको खाद्य विभाग र भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणबीच गुणस्तर परीक्षण, सर्टिफिकेसन, पारस्परिक मान्यता दिने विषयमा पारस्परिक कार्य अघि बढाउने सहमति भएको थियो ।
नेपाली व्यवसायीहरूका अनुसार नेपालको परीक्षणलाई भारतले मान्यता नदिँदा निर्यातजन्य वस्तुको लटअनुसार नमुना बोकेर परीक्षणका लागि भारतको कोलकाता जानुपर्ने बाध्यता थियो । एउटा नमुना लिएर कोलकाता जाँदा वस्तुहरू परीक्षणको प्रतिवेदन आउन कम्तीमा एक महिना लाग्ने गरेको थियो । परीक्षण रिपोर्ट नआउँदासम्म दुई सातासम्म सीमामै ट्रक रोक्नुपर्ने बाध्यता थियो ।