काठमाडौँ, सोमबार, १९ जेठ २०८२ । गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ । निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ ।
यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरुले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभलगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरुले बताएका छन् । उनीहरुले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन् ।