Tuesday, July 15, 2025
21.1 C
Kathmandu
Homeपालिका विशेषसिरानचोक गाउँपालिकाले व्यवसायिक कृषकहरुलाई परिचयपत्र वितरण गर्ने

सिरानचोक गाउँपालिकाले व्यवसायिक कृषकहरुलाई परिचयपत्र वितरण गर्ने

गोरखा, मंगलबार, १७ असार २०८२ । सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष व्यवसायिक कृषकहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले पालिकाभित्रको व्यवसायिक कृषकहरुलाई परिचयपत्र दिई उत्पादन तथा बिक्रीको आधारमा प्रोत्साहन अनुदान कार्यक्रम संचालन गरिने बताएका छन् ।

एक वडा एक कृषि पकेट क्षेत्र र एक वडा दुई कृषि स्रोत केन्द्र विकासको नीति पालिकाले लिएको छ । हाट बजार र विभिन्न कृषि मेला प्रर्दशनी कार्यक्रम संचालनमा ल्याएर उत्कृष्ट कृषकहरुको सम्मान, पुरस्कार र प्रोत्साहनको व्यवस्था मिलाउने पालिका अध्यक्ष गुरुङले बताए ।

सित भण्डार केन्द्रको व्यवस्थापन र विस्तार गर्ने, सिरानचोक रैथाने स्टोर (कोशेली घर) संचालन तथा कृषि एम्बुलेन्सको संचालनलाई थप व्यवस्थित बनाइने उनले जानकारी दिए । पालिकाभित्र गडयौले मल उत्पादनमा जोड दिई कुनै एउटा वडालाई प्राङ्गरिक घोषणा गर्ने पालिकाको नीति छ । भूमि बैङ्क स्थापना गरी खेती योग्य बाँझो जग्गाको सदुपयोग गरिने पालिकाले जनाएको छ ।

बाँदर लगायत जङ्गली जनावरबाट हुने क्षति कम गर्न सामुदायिक वन, राष्ट्रिय वन तथा अन्य वनहरुमा जङ्गली फलफूल खेतीलाई प्रोत्साहन दिइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाको वडा नं ४ चोरकाटेमा गाउँपालिकास्तरीय नर्सरी स्थापना गर्ने लक्ष्य पालिकाले लिएको छ । किट नियन्त्रण, रोग व्यवस्थापन तथा वनस्पती संरक्षणको लागी मिनि ल्याव सैचालन गरी आधारभूत सेवा प्रदान गर्ने पालिकाले जनाएको छ ।

सिरानचोकले स्थानीय कृषि तथा पशुजन्य उत्पादनहरुको भण्डारण, गे्रडिङ्ग, प्रोसेसिङ्ग, प्याकिङ्ग, बजारीकरण तथा ब्राण्डिङ्गमा विशेष प्राथमिता दिने बताएको छ । पालिकाभित्र उद्यम तथा व्यवसायको स्थापना, संचालन र व्यवस्थापनको हरेक चरणमा प्रशासनिक, प्राविधिक तथा अन्य सेवा प्रदान गर्न व्यवसाय प्रवद्र्धन केन्द्र संचालन गर्ने नीति पालिकाले लिएको छ ।

यस्तै, नवप्रवर्तनमा आधारित स्टार्टप उद्यमिहरुलाई प्रोत्साहन गर्न संघ, प्रदेश र वित्तिय संस्थाहरुसँगको समन्वय र सहकार्यमा स्टार्टप कर्जा तथा अनुदान उपलब्ध गराईने पालिकाले जनाएको छ । घरेलु मदिरा तथा अन्य स्थानीय उत्पादनहरुको ब्राण्डिङ्ग तथा बजारीकरण तथा उत्पादन विविधीकरणको विशेष व्यवस्था मिलाउने नीति पालिकाले लिएको छ ।

ऐतिहासिक श्रीनाथमण्डली क्षेत्रको संरक्षण, विकास र प्रचारप्रसारमा स्थानिय सरोकारवालाको प्रत्यक्ष सहभागितामा विशेष कार्ययोजना बनाई उक्त क्षेत्रमा योग, ध्यान पर्यटनको प्रवर्धन गरिने पालिकाको योजना छ । साथै, उक्त क्षेत्रसम्मको सहज सडक पहुँचलाई व्यवस्थित गरिने र पदमार्गहरुलाई एकीकृत गरिने नीति पालिकाको रहेको छ ।

आगामी आर्थिक वर्ष दरौँदी, चेपे र भुसुन्डे खोला र तटीय क्षेत्रमा पौडी तथा फिसिङ्ग पर्यटनको सम्भाव्यता अध्ययन गरी काम सुरु गरिने पालिकाले जनाएको छ । चोरकाटे–जौबारी सडक, द्रव्यशाह राजमार्ग र चोरकाटे–थुम्की सडकलाई सौन्दर्यीकरण गर्दै सडकको दायाँवायाँ हरितवेल्ट निर्माण गर्ने नीति पालिकाको छ । यस्तै, पुराना पैदल सडकहरु, गोरेटो तथा घोडेटो बाटोहरु लगायत पुराना संरचनाहरुको संरक्षणका लागि काम गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आधारभुत स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाई एम्बुलेन्स सेवालाई एकीकृत छिटो, छरितो र प्रभावकारी बनाइने पालिकाले जनाएको छ । आगामी आव विद्यालय स्वास्थ्य कार्यक्रम अन्तरगत पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा आँखा जाँच, किशोरीहरुको रक्तअल्पता परीक्षण लगायत स्वास्थ्य जीवनशैली प्रवद्र्धन अन्तरगत योग ध्यान कार्यक्रम संचालन गर्ने बताइएको छ ।

संघ, प्रदेश र सरोकारवाला निकायसँगको समन्वयमा १५ शैयाको अस्पताल संचालनको काम अघि बढाउने पालिकाको योजना छ । पालिकाभित्रका विद्यालयहरुमा स्काउट, जुनियर रेडक्रस, वाल क्लवहरुलाई क्रियाशिल बनाइने नीति पालिकाको छ । स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक छपाइ तथा वितरणको व्यवस्था मिलाइने पालिकाले जनाएको छ ।

आगामी आव एक वडा एक खेलमैदान निर्माण, पालिका स्तरीय बृहत खेलमैदान निर्माण र आधारभुत खेल सामाग्रीको व्यवस्था मिलाइने पालिकाले जनाएको छ । परम्परागत र पुराना कुलाहरुको मर्मत तथा व्यवस्थापन गर्ने नीति पालिकाको छ ।
पालिकाभित्रको हरेक सडक योजनाहरुमा बिनियोजित बजेटको दुई प्रतिशत रकम बायो इन्जिनियरिङ्गमा खर्च गरिने पालिकाले जनाएको छ ।

यस्तै, ‘हाम्रो बाटो हामी बनाउँछौँ’ भन्ने नारासहित कच्ची नाली निर्माण, सडक सरसफाई, भल व्यवस्थापन तथा सामान्य सडक मर्मतका लागि सामुदायिक परिचालन गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी वर्षको बजेट ६८ करोड ९३ लाख
सिरानचोक गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६८ करोड ९३ लाख रहेको छ । पालिकाको १७ औँ गाउँसभामार्फत उपाध्यक्ष रिता देवकोटाले उक्त बजेट प्रस्तुत गरेकी हुन् । सिरानचोकको लागी नेपाल सरकार समानीकरण अनुदानतर्फ १२ करोड ९१ लाख र राजश्व बाँडफाँडतर्फ रु ८ करोड ४२ लाख बजेट प्राप्त गर्ने अनुमान पालिकाको छ । यस्तै, संघको सशर्त अनुदानतर्फ रु ३३ करोड ३३ लाख बजेट प्राप्त हुने पालिकाको अनुमान छ ।

प्रदेश सरकारको समानीकरण अनुदानतर्फ रु एककरोड ८१ लाख १९ हजार र राजश्व बाँडफाँडतर्फ रु ६५ लाख प्राप्त हुने अनुमान गरिएको छ । संघ र प्रदेशको समपुरक अनुदानतर्फ रु २ करोड ४७ लाख र विषेश अनुदानतर्फ रु एक करोड ९ लाख प्राप्त हुने उपाध्यक्ष देवकोटाले बताइन् । एक करोड २५ लाख रुपैँया आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य पालिकाको बजेटले राखेको छ ।

आगामी आव पालिकाले तलव भत्ता र कार्यालय संचालनका लागी रु ९ करोड ९१ लाख रुपैँया बिनियोजन गरेको छ । गौरवका आयोजना र बाँकी रहेका योजनाका लागी रु ८ करोड, समपुरक अनुदानका आयोजनाको लागी रु चारकरोड ९४ लाख, सर्शत अनुदानका लागी रु ३३ करोड ३३ लाख, विषेश अनुदान कार्यक्रमका लागी रु एककरोड ९ लाख र दिगो विकासको लक्ष्य कार्यान्वयनका लागी रु एककरोड ४० लाख रुपैँया बिनियोजन गरेको बताइएको छ ।

बाँकीको १० करोड २६ लाख रुपैँयामध्य विषयगत क्षेत्र योजनाका लागी ६० प्रतिशत अर्थात रु ५ करोड ७४ लाख र वडागत योजनाका लागी ४० प्रतिशत अर्थात ४ करोड ५१ लाख रुपैँया बिनियोजन गरेको पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । विषयगत क्षेत्र योजनातर्फ आर्थिक विकासमा रु एककरोड १४ लाख, सामाजिक विकास क्षेत्रमा रु एककरोड ७२ लाख, पूर्वधार विकास क्षेत्रमा एककरोड ७२ लाख रुपैँया र वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ रु ५७ लाख ४६ हजार बिनियोजन गरेको बताइएको छ । यस्तै, संस्थागत विकास तथा सुशासनको क्षेत्रमा पनि रु ५७ लाख ४६ हजार बिनियोजन गरिएको पालिकाको भनाई छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको