काठमाडौँ, मंगलबार, ३ भाद्र २०८२ । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला रोग उन्मूलन भएको घोषणा गरेको छ । यो सफलतासँगै बालबालिकाको ज्यान जोखिममा पार्ने यो रोगबाट नेपाल मुक्त भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालको यस उपलब्धिको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बधाई दिएको छ ।
सङ्गठनका दक्षिण-पूर्वी एसिया कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले मन्त्रालयलाई पत्र पठाएर बधाई दिएकी हुन् । नेपालले लामो समयदेखि यस रोगको उन्मूलनका लागि गरेको प्रयासको मूल्याङ्कन गरी यो घोषणा गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत यो ऐतिहासिक उपलब्धिमा संलग्न सबै स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र विकास साझेदारहरूलाई धन्यवाद दिएका छन् । मन्त्री पौडेलले यस उपलब्धिको दिगोपना कायम राख्न र भविष्यमा यस्ता रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्न निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग निगरानी प्रणालीको सुदृढीकरण तथा निवारणपछिको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।








