Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeस्वास्थ्यगोरखा अस्पतालमा रेविजविरुद्धको खोप अभाव

गोरखा अस्पतालमा रेविजविरुद्धको खोप अभाव

spot_img

गोरखा, बुधबार, ४ भाद्र २०८२ । गोरखा अस्पतालमा रेविजविरुद्धको खोप सधैं अभाव हुने गरेको छ । लामो समयदेखि खोप अभाव हुँदै आएको अस्पतालले जनाएको छ ।

‘करिब ७–८ महिना भ्याक्सिन नै भएन,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनालले भने, ‘यही असारको अन्तिमतिर ८० भाइल आएको थियो, केही दिनमै सकियो ।’ विगत एक महिनादेखि फेरि अस्पतालमा खोप नभएको उनले बताए ।

अस्पतालको तथ्यांक अनुसार दैनिक ५–६ जना (कुकुरले टोकेका बिरामी) रेविजविरुद्धको खोप लगाउन आउँछन् । खोप अभावले निजी क्लिनिक धाउन उनीहरू बाध्य छन् । उक्त खोप अस्पतालमा निःशुल्क पाइन्छ । तर निजी स्वास्थ्य संस्थाबाट करिब ६ सय रुपैया तिरेर स्थानीयले खोप किन्नु परेको छ । सो कुरा अस्पतालले पनि स्वीकार गर्छ ।

‘दैनिक रूपमा खोप लगाउन बिरामी आउँछन् तर नभएर फर्काइदिने गरेका छौं,’ खनालले भने, ‘बाहिर निजी फार्मेसीबाट किनेर ल्याएमा लगाइदिने गरेका छौं ।’

विगत एक वर्षदेखि खोप अभाव हुँदै आएको उनले बताए । केन्द्रले खोप खरिद गरेर प्रदेश मार्फत जिल्ला पठाउने भएकाले समस्या भएको उनको भनाइ छ ।

‘हामीलाई सीमित स्टकमा दिन्छन्, भनेको समयमा आउँदैन, आवश्यकता अनुसारको मात्रा हुँदैन अनि सधैं अभाव हुन्छ,’ उनले भने । गोरखा मात्र नभई अन्य जिल्लाका सरकारी अस्पतालमा यो समस्या रहेको उनले जानकारी दिए ।

अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर तिलक आचार्यका अनुसार गत आर्थिक वर्ष एक हजार १ सय ६० जना (इमरजेन्सीमा आएका बिरामीवाहेक) लाई रेविजविरुद्धको खोप लगाइएको थियो ।

अघिल्लो वर्ष भने करिब ८ सय जनालाई खोप लगाइएको थियो । बर्सेनि बिरामीको संख्या बढे पनि पर्याप्त मात्रामा खोप आपूर्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । गत आव करिब ११ सय भाइल खोप मात्र आएको अस्पतालले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img