काठमाडौँ, मंगलबार, १० भाद्र २०८२ । तीजका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई दृष्टिगत गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रभावित क्षेत्रमा जम्मा ६१६ जनशक्ति परिचालित गरेको छ ।
उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार सार्वजनिक सडका अवरुद्ध नहुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको छ ।
पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनका सवारी साधनको पार्किङ तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि कोरिडोर सडकमा मिलाइएको अधिकारीले बताए । बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु, सुरक्षाकर्मिका पार्किङ हुने व्यवस्था मिलाइएको छ ।
पशुपतिक्षेत्र विकास कोषको कार्यालय र अमालकोट कचहरीका कर्मचारी र पर्व व्यवस्थापनसँग सम्बन्धित सवारी साधन भण्डारखाल जंगलमा पार्किङ गर्न दिइने भएको छ । सरकारी संथान र विशिष्ट व्यक्तिका सवारी साधनलाई पनि त्यहीँ पार्किङ व्यवस्था मिलाएको अधिकारीले बताए ।
यद्यपि मूल सडकको सवारी आवागमन नियमित रूपमा चल्ने छ । दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न समस्या भएमात्र गौशाला क्षेत्रमा सवारी आवागमन निषेध हुने उनले बताए ।
तर, ठूला र मालबाहक सवारी साधन भने नियन्त्रण गरिने भएको छ । तीनकुनेबाट सिनामंगल, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनलाई निषेध गरिएको छ ।
वागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भए चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको एसएसपी अधिकारीले बताए ।








