काठमाडौँ, सोमबार, ६ आश्विन २०८२ । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली नागरिकलाई भिजिट र वर्किङ भिसा दिन रोक लगाएपछि, कतार र मलेसियाले पनि यस्तै कदम चाल्न लागेको सूचना बाहिर आएको छ । यसले वैदेशिक रोजगारी तथा नेपालको अर्थतन्त्रमा गम्भीर असर पार्ने चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालयका उच्च स्रोतका अनुसार युएईले गत साता नेपालीलाई भिसा दिन रोक लगाएको हो । त्यसैको प्रभावमा कतार र मलेसियाले पनि भिजिट र श्रम भिसामा कडाइ गर्ने तयारी गरिरहेका छन् । यसअघि दक्षिण कोरियाले पनि नेपालीलाई दिइँदै आएको ई-७ भिसा स्थगित गरिसकेको छ ।
‘जेन-जी’ आन्दोलनको असर
भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनको क्रममा देशभर ६०५ भन्दा बढी सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । तीमध्ये २६३ कार्यालय पूर्णरूपमा ध्वस्त भएका छन् । प्रहरी कार्यालयहरू पनि ठूलो संख्यामा क्षतिग्रस्त भएका छन् । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत उच्च सरकारी संरचनाहरूमा समेत तोडफोड भएको थियो ।
वैदेशिक रोजगार र अर्थतन्त्रमा असर
नेपालबाट सबैभन्दा धेरै कामदार युएई, कतार र मलेसिया जाने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष आठ लाख ३९ हजार २६६ जना नेपाली विदेशिएका थिए । तीमध्ये ५५ प्रतिशतभन्दा बढी केवल यी तीन देशमा गएका थिए । युएईमा दुई लाख ७४ हजार ५९०, कतारमा एक लाख ४० हजार ७९२ र मलेसियामा ४९ हजार १८७ गएका थिए । वर्तमानमा युएईमा सात लाख र कतारमा चार लाखभन्दा बढी नेपाली कार्यरत छन् । यदि यी देशहरूले दीर्घकालीन रूपमा भिसा रोक्ने हो भने, त्यसको प्रत्यक्ष असर रेमिट्यान्समा पर्नसक्छ ।









