गोरखा, शनिबार, ३० जेठ २०८३ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका बिभिन्न उच्च भिरालो क्षेत्रमा स्थानीय बासिन्दा यतिबेला भिरमौरीको मह संकलनमा ब्यस्त भएका छन् ।
परम्परादेखि चल्दैआएको यस पेशामा स्थानीयहरु डोरीको सहारामा अग्ला चट्टानबाट झुण्डिएर मह निकाल्ने कार्यमा सग्लन हुने गरेका छन् । जोखिमपूर्ण मानिने यो कामका लागि बिशेष सीप, साहस र लामो अनुभब आबश्याक पर्ने स्थानीय बासिन्दा सुमित्रा गुरुङले बताउनुभयो ।
भिरमौरीले अग्ला चट्टानमा बनाएका ठुला घारबाट मह संकलन गरिन्छ । मह निकाल्नुअघि घार वरिपरि धुवाँ लगाएर मौरीलाई केही समयका लागि टाढा हटाइन्छ । त्यसपछि डोरीको सहारामा भिरबाट तल झरेर घार काट्ने र मह संकलन गर्ने प्रक्रिया अपनाइन्छ ।
स्थानीय बासिन्दा रोजन गुरुङका अनुसार भिरमह प्राकृतिक रुपमा उत्पादन हुने भएकाले यसको बिशेष महत्व छ । बिशेषगरी औषधीय गुण भएको बिश्वासका कारण भिरमहको बजारमा उच्च माग रहने गरेको छ । केही महमा रेड हनी अर्थात बिशेष प्रकारको मह पनि पाइने भएकाले यसको मूल्य अन्य महको तुलनामा बढी हुने गरेको धार्चे गाउँपालिका –३ का वडा अध्यक्ष शेरबहादुर गुरुङको भनाइ छ ।
मह संकलनबाट स्थानीय समुदायले राम्रो आम्दानी समेत गर्दैआएका छन् । ग्रामीण क्षेत्रका धेरै परिवारको आयआर्जनको महत्वपूर्ण स्रोतका रुपमा भिरमह संकलन हुदैआएको छ । पछिल्ला बर्षमा आन्तरिक तथा बाह्य पर्यटकले समेत भिरमह संकलन प्रक्रियाप्रति चासो देखाउन थालेपछि यसले पर्यटन प्रबर्धनमा टेवा पुगेको छ ।
यहाँ उत्पादित मह प्रतिमाना १५ सय रुपियाँका दरले बिक्री गर्ने स्थानीयले बताएका छन् । भिर मौरीको धेरै औषाधी हुन्छ । त्यसैले धेरैजसो घरायसी प्रयोग गर्छन् भने बाँकी रहेको मह देश बिदेशसम्म पुग्ने स्थानीय सुमित्रा गुरुङको भनाइ छ ।
प्छिल्लो केही समय यता जलबायु परिबर्तन, बन बिनाश तथा मौरीको बासस्थानमा आएको कमीका कारण भिरमौरीको संख्या घट्ने चिन्ता बढेको छ । स्थानीयबासी तथा सरोकारवाला निकायले मौरी संरक्षणसंगै सुरक्षित र ब्यबस्थित रुपमा मह संकलन गर्न आबश्यक रहेको बताएका छन् ।
पराम्परागत सीप र प्राकृतिक सम्पदासँग जोडिएको भिरमह संकलनले धार्चे –१ हुल्चुक, वडा २ रुन्चेत र वडा ३ खोर्ला र उहियाका दर्जनौ भिरहरुमा भिरमौरीको मह काढ्ने काम भइरहकेकाले स्थानीयको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुगेको स्थानीयको भनाइ छ ।









