काठमाडौँ, मंगलबार, १९ साउन २०८३ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभएपनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनुभएको छ ।
मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनु भयो । पूर्ण १४ केजीको ग्यास वितरण गर्न थालेपछि बजारमा एक्सासी सिलिण्डर आउँदा वितरण प्रणालीमा चाप बढेको उहाँको भनाई छ ।
उहाँले पछिल्लो तीन महिनामा २३ लाख सिलिण्डर रिफिल नभएको बताउनु भयो । तीन महिनाको तथ्यांक विश्लेषण गर्दा कम्तीमा ७० लाख सिलिण्डर बजारमा आउनुपर्नेमा ५४ लाख सिलिण्डर मात्रै रिफिल भएर वितरण भएको उहाँले जानकारी दिनुभयो । आधा सिलिन्डरबाट पूर्ण सिलिण्डर वितरण गर्न थालेपछि एकैपटक ठूलो संख्यामा सिलिण्डर बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको उहाँको दाबी छ ।
यसअघि मासिक ४६-४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग रहेकोमा हाल बढेर करिव ६० हजार मेट्रिक टन पुगेको उहाँले बताउनु भयो । उहाँले इन्डियन आयल कर्पोरेसनसँग कम्तीमा एकदेखि डेढ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार हाल ६० हजार मेट्रिक टनको पूर्ण आपूर्ति नभएपनि करिब ५० हजार मेट्रिक टन ग्यास आपूर्ति गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कम्तिमा ७० लाख सिलिण्डर बजारमा आउनुपर्नेमा ५४ लाख सिलिण्डर मात्रै रिफिल भएर बजारमा आएको अवस्था देखियो । यो तीन महिनाको हामीले डेटा हेर्यौं भने करिब २३ लाख सिलिन्डरहरु चाहिँ यहाँबाट रिफिल हुन नसकेको अवस्था यसबाट देखियो । अब यो प्रारम्भिक हाम्रो अहिलेको अध्ययनले देखाएको एउटा कारण हामीसँग जुन रिफिल हुनुपर्ने ग्याँस सिलिन्डरहरु छन्, ती रिफिल हुनुपर्ने ग्याँस सिलिन्डरहरु पूर्ण रूपमा रिफिल हुन सकेनन् । यसले गर्दाखेरि जब हामी फूल सिलिण्डरमा आयौँ, फूल सिलिण्डरमा आइसकेपछि ती सबै ग्याँस सिलिन्डरहरु एकैचोटि बजारमा आइदिए र हामीले यो हाफ सिलिन्डरको बेलाको जुन माग थियो, करिब ४६ हजार मेट्रिक टनको माग थियो । अघिल्ला वर्षहरुको डाटाले हेर्दा पनि ४६-४७ यस्तै रेन्जमा हाम्रो माग रहिरहेको अवस्था हो । जब हामी हाफ सिलिण्डरबाट फूल सिलिन्डरमा गइसकेपछि हाम्रो माग चाहिँ एकदमै माथि गएको सर्भ भएको अवस्था देखिन्छ । करिव-करिव ६० हजारको मेट्रिक टनको मागमा पुगेको अवस्था देखिन्छ । इण्डियन आयल कर्पोरेसनसँग हामीले कम्तिमा एक डेढ महिनाको लागि थप ग्यास सप्लाई दिन अनुरोध गरेको छौँ । अहिले ६० हजार मेट्रिक टन नै पूरा भइसकेको अवस्था होइन, करिब ५० हजार मेट्रिक टन छ, जबकि ५० हजार मेट्रिक टन पनि अघिल्ला आर्थिक वर्षहरुको यो महिनाको कम्पेयरमा बढी हो । ४७ हजार यो रेन्जको ग्यासले हामीलाई पुगेको अवस्था थियो । तर अहिले ५० हजार मेट्रिक टन दिने भन्ने कुरा छ, साउनको १९ गतेसम्म आइपुग्दासम्म ३१ हजार मेट्रिक टन ग्यास आइसकेको अवस्था हो । त्यसैले गर्दाखेरि ग्यासको परिमाण एक्ज्याक्ट अपर्याप्त होइन कि भन्ने जस्तो यो डाटाहरुबाट देखिन्छ । सो भएको हुनाले यो आपूर्तिको विषय र बजार भित्रको सर्कुलेसनको विषयलाई व्यवस्थित गरेर लानुपर्ने अवस्था चाहिँ आजको दिनमा देखिन्छ ।’
साउन १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको उल्लेख गर्दै उहाँले अझै केही समय ग्यास अपुग नै रहने बताउनुभयो । उहाँकाअनुसार ४१ जिल्लामा ग्यासको धेरै समस्या नरहेको भएपनि २८ जिल्लामा केही समस्या देखिएको र करिव आठ जिल्लामा विशेष व्यवस्थापन तथा निगरानी आवश्यक रहेको बताउनु भयो ।









