Thursday, September 24, 2026
19.1 C
Kathmandu
spot_img
Homeविपद्बाढीको सूचना अपडेट गरिने, नदीको अवस्था ‘रियल टाइम’ निगरानी

बाढीको सूचना अपडेट गरिने, नदीको अवस्था ‘रियल टाइम’ निगरानी

spot_img

काठमाडौँ, बुधबार, ७ असोज २०८३ । सम्भावित भारी वर्षासँगै बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना अद्यावधिक गर्ने भएको छ ।

आगामी शुक्रबारदेखि आइतबारसम्म अर्थात् असोज ८, ९ र १० गते देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि पूर्वसूचना प्रणालीलाई थप चुस्त बनाइएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीको जलसतह तथा जोखिमको अवस्था ‘रियल टाइम’मा निगरानी गरिनेछ ।

सम्भावित बाढी खतराको तहमा नदी कहिले पुग्न सक्छ र त्यसबाट कस्तो प्रभाव पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उहाँले जानकारी दिनुभयो ।

“पूर्वसूचना प्रणालीलाई हामी घण्टा–घण्टामा अपडेट गर्ने र अवस्था निगरानी गर्ने काम गर्छौँ। कुनै ठाउँमा बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले के प्रभाव पार्छ भनेर बाढी पूर्वानुमान महाशाखासँग समन्वय भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी कति परिरहेको छ भन्ने विवरण हामी रियल टाइममा हेर्छौँ। नागरिकको मोबाइलमा एसएमएस अलर्ट आउने भएकाले त्यसलाई गम्भीरतापूर्वक हेरिदिनुहुन अनुरोध गर्दछु।”

साइक्लोनको प्रत्यक्ष निगरानी, उच्च हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
समुद्रमा विकसित हुन सक्ने ठूलो आँधी (साइक्लोन) प्रणाली र त्यसको दिशामा हुन सक्ने परिवर्तनलाई समेत प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको जनाएको छ ।

मौसम प्रणाली तीव्र गतिमा परिवर्तन हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई ध्यानमा राखी ‘रेड अलर्ट’ जारी गरिएको छ।

मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ। जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानमा फर्किन आग्रह गरिएको छ ।

त्यस्तै, ट्राभल एजेन्सीलाई नयाँ बुकिङ नगर्न तथा हेलिकप्टर उडानका लागि आवश्यक पूर्वतयारीसहित सतर्क रहन एडभाइजरी जारी गरिएको छ ।

यातायात पूर्ण रूपमा रोक्न सकिने, किसानलाई धानबाली जोगाउन आग्रह
विपद्को जोखिम बढेमा राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा निषेध गर्न सकिने प्राधिकरणले जनाएको छ ।

कार्यकारी प्रमुख उप्रेतीका अनुसार शुक्रबार र शनिबार अत्यावश्यक कामबाहेक यात्रा नगर्न यात्रुलाई आग्रह गर्ने तथा यातायात व्यवसायीलाई समेत सेवा सञ्चालन नगर्न अनुरोध गर्ने तयारी गरिएको छ ।

पहिरोको जोखिमलाई ध्यानमा राखी देशका मुख्य राजमार्गमा अवरुद्ध सडक तत्काल खुलाउन डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएको छ ।

यस्तै, वर्षाका कारण कृषि क्षेत्रमा क्षति हुन सक्ने भएकाले खेतमा पाकेको धानबाली तथा भण्डारण गरिएको अन्न जोगाउन विशेष सतर्कता अपनाउन किसानलाई आग्रह गरिएको छ। यस सम्बन्धमा कृषि मन्त्रालयमार्फत छुट्टै एडभाइजरीसमेत जारी गरिएको छ ।

बाढीमा टिकटक बनाउन र दाउरा संकलन गर्न नजान चेतावनी
प्राधिकरणले बाढीका बेला भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने क्रममा आफ्नो ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई चेतावनी दिएको छ ।

बाढीले बगाएर ल्याएका दाउरा तथा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने गतिविधि पनि अत्यन्त जोखिमपूर्ण हुने भन्दै त्यस्ता कार्य नगर्न कार्यकारी प्रमुख उप्रेतीले आग्रह गर्नुभयो ।

सम्भावित विपद्लाई मध्यनजर गर्दै हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ। साथै, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमको अवस्था प्रत्यक्ष निगरानी गर्नुका साथै विपद् प्रतिकार्यको तयारी तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img